लन्डन — बेलायतको दक्षिण वेल्समा फैलिएको डढेलो नियन्त्रण तथा आपत्कालीन व्यवस्थापनमा सहयोग गर्न गोर्खा सैनिक परिचालन भएका छन्। स्थानीय अग्निनियन्त्रण तथा उद्धार टोलीमाथि कामको चाप बढेपछि बेलायती सेनालाई सहयोगका लागि परिचालन गरिएको हो।
१० क्विन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्ट (10 QOGLR) का गोर्खा सैनिकसहित करिब २०० जना सैन्य जनशक्ति दक्षिण वेल्समा खटिएका छन्। उनीहरू Military Aid to the Civil Authorities (MACA) अन्तर्गत नागरिक प्रशासनलाई सहयोग गरिरहेका छन्।
दक्षिण वेल्समा लामो समयदेखि वर्षा नहुनु, सुख्खा अवस्था र उच्च तापक्रमका कारण डढेलोको जोखिम बढेको छ। पछिल्लो अवस्थाअनुसार क्षेत्रमा १४ वटा डढेलोका घटना सक्रिय रहेको स्थानीय अग्निनियन्त्रण सेवाले जनाएको छ।
गोर्खा सैनिकहरूले आगो नियन्त्रणमा अग्निनियन्त्रकलाई प्रत्यक्ष सहयोग गर्नुका साथै फायरब्रेक निर्माण, आवश्यक सामग्री तथा पानी ओसारपसार र अन्य लजिस्टिक काम गरिरहेका छन्। फायरब्रेकले आगो एक स्थानबाट अर्को क्षेत्रमा फैलिन नदिन सहयोग गर्छ।
डढेलो नियन्त्रणका लागि सुरुमा करिब १०० सैनिक परिचालन गरिएको थियो। आगलागीको अवस्था गम्भीर बन्दै गएपछि सैन्य सहयोग विस्तार गर्दै करिब २०० जनासम्म पुर्याइएको हो। गोर्खा सैनिकसँगै २२ इन्जिनियर रेजिमेन्टका सैनिक पनि परिचालन भएका छन्।
दक्षिण वेल्सका केही क्षेत्रमा डढेलो नियन्त्रण गर्न अग्निनियन्त्रण टोलीलाई लामो समयदेखि कठिनाइ भइरहेको छ। सुख्खा भू–भाग र तीव्र हावाका कारण आगो फैलिने जोखिम थप बढेको अधिकारीहरूले बताएका छन्।
बेलायतमा नागरिक आपत्कालीन अवस्थामा गोर्खा सैनिक परिचालन भएको यो घटनाले बेलायती सेनामा गोर्खाहरूको भूमिका केवल सैन्य सेवामा मात्र सीमित नभई विपद् तथा नागरिक सुरक्षामा समेत महत्वपूर्ण रहेको देखाएको छ।