लन्डन । लन्डन निवासी धावक सन्तोष राईले ‘आइरनम्यान लिड्स’ प्रतिस्पर्धामा सफलता प्राप्त गरेका छन् । आइतबार भएको प्रतिस्पर्धामा राईले आफ्नो उमेर समूहमा दोस्रो र समग्रमा ५१औँ स्थान हासिल गर्न सफल भए ।
यो आइरनम्यानका सबैभन्दा कठिन कोर्सहरूमध्ये एक हो, जसमा ३.८ किलोमिटर पौडी, १८० किलोमिटर साइक्लिङ र ४२.१९५ किलोमिटर म्याराथन समावेश हुन्छ । साथै यस प्रतिष्पर्धामा उकालो–ओरालो मार्गको चुनौती पनि उस्तै हुन्छ।
पानीको सुरक्षाका कारण पौडी चरण रद्द भएर यसमा साइक्लिङ र दौडमात्र समावेश भएको थियो ।
‘सबैभन्दा महत्त्वपूर्ण कुरा त कोना, हवाईमा हुने ‘आइरनम्यान वर्ल्ड च्याम्पियनसीप’ का लागि छनोट हुने मेरो पहिलो प्रयास सफल भएको छ’, उनले भने ।
कोनामा हुने आइरनम्यान वर्ल्ड च्याम्पियनसिपका लागि छनोट हुने पहिलो नेपाली र पहिलो लन्डन बस चालक बन्न पाएकामा आफूलाई असाध्यै गर्व लागेको उनले बताए ।
यसै वर्षको अक्टोबर १० मा कोना, हवाईमा हुने आइरनम्यान वर्ल्ड च्याम्पियनसिपका लागि छनोट हुनु अत्यन्तै कठिन कार्य हो । सबै उमेर समूहका ट्राइएथलिटहरूमध्ये करिब ३ प्रतिशतले मात्र यसमा स्थान बनाउन सक्छन्।
यसका लागि या त आफ्नो उमेर समूहमा जित हासिल गर्नुपर्छ, वा ‘ब्यालेट’ (छनोट प्रक्रिया) मा आफ्नो नाम समावेश गर्न जीवनमा १२ वटा आइरनम्यान दौड पूरा गरेको हुनुपर्छ र विगत दुई वर्षदेखि यसमा निरन्तर सहभागी हुन जरुरी छ ।
यो विश्वभरका ट्राइएथलिटहरूका लागि एउटा सपना र अन्तिम गन्तव्य पनि मानिन्छ ।
‘मलाई आशा छ कि मेरो यो यात्राले अरूलाई पनि समर्पण, कडा परिश्रम र निरन्तरताका साथ अगाडि बढे जे पनि सम्भव छ भन्ने विश्वास दिलाउन प्रेरित गर्नेछ’, राईले भने ।
सन् २०२४ मा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा प्रतिष्पर्धा गरेका राई त्यतिबेला टप १३ मा पर्न सफल भएका थिए ।
अस्ट्रेलियाको नर्थ क्विन्सल्यान्डस्थित टाउन्स भेलमा भएको उक्त वल्र्ड च्याम्पियनसिप अन्तर्गत एलिट क्याटेगोरीमा प्रतिस्पर्धा गरेका थिए ।
राईले गत वर्ष स्पेनमा आयोजित वर्ल्ड च्याम्पियनसिप लङ् डिस्टेन्स ट्रायथलनमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए । स्पेनको पोन्टेभेड्रामा भएको उक्त प्रतियोगितामा सन्तोषले ४० देखि ४४ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्दा टप १७ स्थान सुरक्षित गरेका थिए ।
नेपाल रन यूकेका संस्थापक राईले संसारकै प्रतिष्ठित लन्डन म्याराथनको ४५औं संस्करणमा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा दौडिएर ‘गिनिज वर्ल्ड रेकर्ड’ बनाएका थिए ।
राईले सन् २००९ देखि दौड्न थालेका हुन् । लन्डन, बर्लिन, न्यूयोर्क, सिकागो, बोस्टन, टोकियो जस्ता विश्वका ६ वटा फुल म्याराथन पूरा गर्ने उनी पहिलो नेपाली हुन् ।
नेपाल रन यूकेले नेपालमा ७ प्रदेशमा ७ दिनमा ७ वटा फूल म्याराथन प्रतियोगिता समेत शुरु गरेको छ जसमा राईले दुई पटक सहभागिता जनाइसकेका छन् ।