लन्डन । नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकार प्रकाश सपूत र राजेशपायल राईले आगामी क्रिसमस तथा नयाँ वर्षको अवसरमा बेलायतमा विशेष सांगीतिक यात्रा गर्ने भएका छन्।
‘यूके टुर २०२६-२०२७’ नाम दिइएको उक्त सांगीतिक यात्रामा दुवै कलाकारले बेलायतका विभिन्न सहरमा पुगेर नेपाली दर्शक–श्रोतामाझ प्रस्तुति दिने तयारी गरेका हुन्। आयोजक जीटीबास इन्टरटेन्टमेन्ट र किजटुसक्सेसका अनुसार क्रिसमस तथा नयाँ वर्षको अवसरलाई लक्षित गर्दै विभिन्न शहरमा कार्यक्रम आयोजना गरिनेछ।
लोकप्रिय गायक तथा सर्जक प्रकाश सपूत पछिल्लो समय नेपाली लोकसंगीत, गीत सिर्जना तथा प्रस्तुतिमार्फत देश–विदेशमा चर्चित छन् । उनका मौलिक तथा सामाजिक विषयवस्तुमा आधारित गीतले नेपाली संगीतमा छुट्टै पहिचान बनाएको छ।
त्यस्तै, नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय राजेशपायल राईका लोकप्रिय गीत तथा दमदार प्रस्तुतिले बेलायतमा रहेका नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ। ‘राई इज किङ’का रूपमा परिचित राईका लोकप्रिय गीतहरू प्रत्यक्ष सुन्न पाउने अवसरलाई उनका बेलायतस्थित प्रशंसकहरूले विशेष रूपमा प्रतीक्षा गर्ने आयोजकको विश्वास छ।
आयोजकले बेलायतका विभिन्न शहरमा कार्यक्रम आयोजना गर्न इच्छुक व्यक्ति तथा संस्थालाई बुकिङका लागि सम्पर्क गर्न आग्रह गरेको छ।