लन्डन- नेपालमा बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा लन्डन बेक्सलीमा दीप प्रज्वलन तथा बाढीपीडितको सहयोगार्थ कोष संकलन गरिएको छ।
बेक्सली नेपाली समाजको आयोजनामा बुधबार सांझ स्थानीय बरोका मेयर, काउन्सिलरलगायत १ सय ६० भन्दा बढीको सहभागिता रहेको कार्यक्रमबाट ६ हजार पाउण्ड सहयोग समेत जुटाइएको छ।
समाजले यसअघि ५ सेप्टेम्बरका लागि तय गरिएको तीज कार्यक्रम स्थगित गरी बाढीपीडित नेपालीहरूको सहयोगार्थ रकम संकलन गर्ने निर्णय गरेको थियो।
अभियानबाट हालसम्म संकलित ६५ सय पाउण्ड बढी रकम तत्काल प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिने जनाइएको छ।
कोषाध्यक्ष तिलक लम्सालले सहयोग संकलन जारी राखेर पछि पुन: थप सहयोग पठाइने बताए।
समाजकी अध्यक्ष विजिता गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेक्सली बरोकी मेयर काउन्सिलर लिसा जेन मूर तथा उनका कन्सोर्ट जस्टिन मूरसहित ग्रीनवीच बरोका पूर्व मेयर काउन्सिलर जीत रानाभाट, काउन्सिलर स्टिभेन हिल, डेभिड ली, काउन्सिलर क्यारोलिन न्युटन, काउन्सिलर ब्रायन बिशप, काउन्सिलर वार्ड विल्सन र काउन्सिलर निकोला टेलरलगायत स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो।
बेक्सली मेयर लिसा जेन मूरले नेपाल र बाढीबाट प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गरिन्। सो अवसरमा बाढीबाट पीडामा रहेको नेपालको प्रतीकस्वरूप हातले बनाइएको नेपालको नक्सा मेयरलाई हस्तान्तरण गरिएको थियो।
ग्रीनवीचका पूर्व मेयर काउन्सिलर जीत रानाभाटले यो कठिन समयमा विदेशमा बस्ने नेपालीहरूले निर्वाह गरेको भूमिका र योगदानबारे बताए।
कार्यक्रममा स्थानीय सांसद लुई फ्रेन्च तथा काउन्सिलर क्रिस्टिनले नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउंदै पठाएका सन्देश वाचन गरिएको थियो।
समाजका महासचिव उमेशचन्द्र गौतमले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष विजिता गौतमले उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरिन्। त्यस अवसरमा संस्थापक अध्यक्ष केशबहादुर गुरुङ, पूर्वअध्यक्ष आनन्द धरेल, निवर्तमान अध्यक्ष डा. हरिश ज्ञवालीसहित कार्यसमितिका पदाधिकारी र आजीवन सदस्यहरूको सहभागिता थियो।