लन्डन — भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतको लेस्टरमा दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली सभा गरिएको छ।
श्रृजनशील लेस्टर नेपाल यूकेको आयोजनामा आइतबार भएको कार्यक्रममा नेपाली तथा स्थानीय समुदायका प्रतिनिधिले सहभागी भएर दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे।
कार्यक्रममा लेस्टरका लर्ड मेयर कुलविन्दर सिंह जोहल, सांसद शिवानी राजा, काउन्सिलर भूपेन्द्र दवे, क्राइम कमिशनर रुपर्ट म्याथ्यू लगायत स्थानीय जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।
सहभागी जनप्रतिनिधिले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको सहयोगका लागि बेलायत सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए।
संस्थाका अध्यक्ष शिव पराजुलीले बाढीपीडितको सहयोगका लागि बेलायतमा रहेका नेपालीलाई सहयोग गर्न अपिल गरे। उनले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि प्राकृतिक विपत्तिको ठूलो क्षति बेहोर्नुपरेको भन्दै विकसित देशबाट क्षतिपूर्तिको मागसमेत गरे। उक्त मागमा सहभागी सांसद तथा स्थानीय जनप्रतिनिधिले समर्थन जनाएका थिए।