यूकेबाट अलग हुन स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका नेताबीच बैठक

  • प्रकाशित मिति : २०८३ भाद्र २९, सोमबार
  • नेपाल टेल संवाददाता

संयुक्त अधिराज्य (बेलायत) एकजुट रहने सम्भावनालाई लिएर फेरि एकपटक प्रश्न खडा भएको छ । स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्डका प्रथम मन्त्रीहरू यही विषयमा सोमबार वेल्सको राजधानी कार्डिफमा बैठक गर्दै छन् । संयुक्त अधिराज्यमा रहेका स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका सरकार प्रमुखलाई फस्ट मिनिस्टर भनिन्छ । योसँगै अलग देश आयरल्यान्डको पार्टी सिन फेनका अध्यक्ष मेरी लु म्याकडोनाल्डसमेत हुनेछन् ।

बैठकमा नेताहरूले हरेक क्षेत्रमा आफ्नो अविष्य आफैँ तय गर्ने अधिकारका विषयमा साझा वक्तव्य जारी गर्ने सम्भावना छ । यसमा आवश्यक परेमा स्वतन्त्रता वा ठूलो बदलाबका लागि जनमत संग्रह गराउने विषयसमेत रहेको छ । यो बैठकबाट यूकेमाथि दबाब बढ्न सक्नेछ ।



ब्रिटेनको केन्द्र सरकार देशलाई एकजुट राख्ने पक्षमा छ । तर, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्ड बढी अधिकार वा बदलावको माग गरिरहेका छन् । यी तीनै स्थानमा यस्ता प्रभावशाली पार्टी छन्, जो ब्रिटेनको अहिलेको व्यवस्थामा बदलाव चाहन्छन् ।

स्कटल्यान्डमा एसएनपी स्वतन्त्रताको समर्थन गर्छ । वेल्समा प्लाइड कम्री पनि स्वतन्त्रता मागिरहेको छ । उता उत्तरी आयरल्यान्डमा सिन फेन यूकेसँग अलग भएर आयरल्यान्डसँग एकताको पक्षमा छ । भौगोलिक रूपमा पनि आयरल्यान्ड र उत्तरी आयरल्यान्ड जोडिएका छन् भने ग्रेट ब्रिटेनबाट उत्तरी आयरल्यान्ड अलग छ ।

द टेलिग्राफको रिपोर्ट अनुसार स्कटल्यान्डका फस्ट मिनिस्टर जोन स्विनी र वेल्सका फस्ट मिनिस्टर रुन एपी एओर्थवर्टसँगै उत्तरी आयरल्यान्डका नेताले पनि साझा घोषणापत्रको समर्थन गर्न सक्छन् । बैठकमा स्वतन्त्रता र संवैधानिक बदलावसँगै अर्थव्यवस्था, ऊर्जा, युरोप र अन्य देशसँगको सम्बन्ध बलियो बनाउने विषयमा समेत छलफल हुनेछ ।

स्कटल्यान्डको स्वतन्त्रता यो पूरै बहसको सबैभन्दा ठूलो मुद्दा हो । ब्रिटेनका प्रधानमन्त्री एन्डी बर्नहमले हालै भनेका थिए, ‘यदि स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा स्वतन्त्रताको पक्षमा मानिसहरूबीच सहमति बन्छ भने अर्को जनमतसंग्रहबारे विचार गर्न सकिन्छ ।’

एसएनपीले बर्नहमको यो भनाइलाइै तत्काल मुद्दा बनायो । यसपछि बर्नहमले स्पष्टीकरण नै दिनुपरेको थियो । उनले चिट्ठी लेखेर अर्को आमनिर्वाचनअघि स्वतन्त्रताबारे जनमतसंग्रह नगराउने बताएका छन् ।