म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले सफाई दिएको छ । विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेल मिलेमतोको आरोप लागेका उनीहरुलाई सर्वोच्चले मंगलबार सफाइ दिएको हो ।
न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले खेल मिलेमतोको आरोप लागेका राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई सफाइ दिएको हो ।
खेल मिलेमतो गरी राज्यविरुद्धको अपराध गरेको आरोपमा पाँच वर्षदेखि उनीहरूविरुद्ध मुद्दा चलिरहेको थियो । २०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो ।
तर, सर्वोच्चले यसअघि विशेष अदालतले गरेको फैसलालाई नै सदर गरिदिएको हो । उनीहरुलाई २०७५ जठ २४ गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो । विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो ।