काठमाडौँ । पछिल्लो समय धेरै व्यक्ति पब्जी गेमको लतमा फसेका छन्। पब्जी खेलेकै कतिले हात्महत्या गरेको घटना पनि हामीले सुनेका छौँ।
एउटा यस्तै घटना सार्वजनिक भएको छ। एक किशोरले पब्जी खेलेरै बाबुआमाको लाखौँ रकम सकिदिएका छन्। भारतको पन्जाबमा एकजना किशोरले पब्जी खेलेरै बाउआमाको २७ लाख नेपाली रुपैयाँ बराबरको पैसा स्वाहा पारिदिए।
समाचार अनुसार इन एप पर्चेजेज तथा अपग्रेडिङका लागि उनले १६ लाख भारु खर्च गरे। १७ वर्षका ती किशोरसँग आफ्ना बाउआमाका विभिन्न ३ वटा मोबाइल अकाउन्टमा पहुँच थियो। पब्जी मोबाइलमा लम्पट बनेका उनले एपमै पैसा खर्चका लागि तिनैवटा अकाउन्टको प्रयोग गरे।
ती किशोर मोबाइलमा निकै भुलेको देख्दा बाउआमालाई शंका लाग्दथ्यो । तर उनले चाहीँ आफुले पढ्नका लागि भन्दै घण्टौँसम्म मोबाइल चलाइरहन्थे र पब्जी खेल्दथे । पब्जी मोबाइलको इनएप पर्चेजेजका अलावा उनले गेम खेल्ने क्रममा खेल्ने साथीहका लागि समेत अपग्रेड खरीद गरिदिन्थे ।
जब ती किशोरका बाबुआमाले आफ्ना बैंक अकाउन्टबाट १६ लाख भन्दा धेरै भारु खर्च भएको देखे तब उनीहरुको होसहवास नउड्ने कुरै भएन । त्यसपछि सोधखोज गर्दा आफ्नै छोराले मोबाइलमा गेम खेल्दा त्यो रकम खर्च गरेको पत्ता लाग्यो ।
ती किशोरले आफ्नै आमाको मोबाइलबाट पब्जी गेम खेल्दथे । जब गेमका लागि आवश्यक रकम बैंकबाट तिर्दा प्राप्त भएको मेसेज डिलिट गरिहाल्थे । जसका कारण उनका बाबुआमालाई छोराले त्यस्तो कृत्य गरिरहेको पत्तो थिएन ।