ठोरी । एक प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपाली भएको अभिव्यक्ति दिएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको देशभित्र र बाहिर चर्को आलोचना भएको छ। तर प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले पर्साको ठोरीका स्थानीय भने उत्साहित बनेका छन्।
प्रधानमन्त्री अोलीले ठोरी क्षेत्रमा रामको जन्म भएको अभिव्यक्ति दिएपछि उत्साहित ठोरीबासीले बिहीबार दीपावली गर्न लागेका हुन्। ठोरी गाउँपालिकाको वडा नम्बर तीनका बासिन्दालाई बिहीबार साँझ ७ बजे दीपावली गर्न अपिल गरेको वडा नम्बर ३ का वडाध्यक्ष सूर्यबहादुर लामाले बताए।
बुधबार साँझ स्थानीय अग्रजहरुको भेलामा सूर्यबहादुरले भने, ‘ठोरी पौराणिक भूमि हो, यो भूमि नै रामको जन्मभूमि हो भन्ने हामीलाई थाहा थियो। यहाँ अाएर हेर्ने घुम्ने जो कोहीले यो कुरा भन्न सक्छ । ठोरीको माटो बुझेर, ठोरीमा जन्मिएका महान अात्महरुको पुकार सुनेर प्रधानमन्त्री अोलीले रामको जन्मभूमि ठोरी हो भन्नुभयो । त्यसैको खुशियालीमा बिहीबार दीपावली गर्न लागेका हौँ।’