काठमाडौं। सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ। कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन मध्यरातदेखि हटाइएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले सो कुराको जानकारी दिएका हुन्।
लकडाउन घोषणा गरिएको झण्डै चार महिनापछि जनजीवन सामान्य बनाउने ध्येयका साथ सरकारले त्यसको विधिवत् अन्त्य गरेको हो। बन्दाबन्दीबाहेक कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा गरिएका अन्य व्यवस्था भने यथावत् नै राखिएको छ।
गाडीको जोर/बिजोर प्रणाली हट्यो
मन्त्री खतिवडाले सिफ्टमा सञ्चालन गरेका सरकारी कार्यालय भने पूर्ववत् रुपमा सञ्चालन हुने जानकारी दिए। उनका अनुसार सरकारी कार्यालयहरु अब बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ।
यसअघि सरकारले बिहान ८ देखि १ र १ देखि ५ बजेसम्म दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको डा खतिवडाले जानकारी दिए।
खुल्ने क्षेत्र के–के ?
खतिवडाका अनुसार सरकारले साउन १५ गतेदेखि सर्तहरूसहित होटल, रेस्टुराँ, ट्राभल तथा ट्रेकिङलगायत पर्यटन व्यवसायहरू खुला गर्ने निर्णय गरेको छ।
त्यस्तै अन्य विभिन्न व्यवसाय र क्षेत्रहरू पनि आगामी भदौ १ गतेदेखि खुला गर्ने जानकारी खतिवडाले दिए।
खतिवडाले दिएको जानकारी अनुसार सबै खुला गरिने क्षेत्रले जनस्वास्थ्य मापदण्ड र कोरोनाभाइरसबाट बच्ने सुरक्षात्मक उपायहरू अपनाउनुपर्नेछ। होटलहरू खुले पनि त्यहाँ सामूहिक भोज भने गर्न पाइने छैन।
साउन १५ गतेबाट ट्रेकिङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय सञ्चालन गर्न पाइने छ ।
भदौ १ गतेदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुने गरी तोकिएका आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान गर्न पाइने छ।
अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल पनि भदौ १ गतेबाट सञ्चालन गर्न पाइने भएको छ । त्यही दिनबाट विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ ।
यी हुन नखुल्ने क्षेत्र
शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, मनोरन्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल र पुस्तकालय, संग्रहालय र चिडियाखाना अर्को सूचना नभएसम्म सञ्चालन गर्न नपाइने भएको हो ।
सरकारले सबै प्रकारका सेवा तथा कार्य सञ्चालन गर्दा दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटक–पटक साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नेलगायत जनस्वास्थ्यका सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गरी सेवा र कार्य सञ्चालन गर्न पनि सुझाव दिएको छ।
सीमा पनि बन्द
साउन मसान्तसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय निरन्तर रहने उनले जनाए।
सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि खुला गर्ने निर्णय गरेको सोमबारै पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिएका थिए।
खतिवडाले खुला गर्ने निर्णय गरिएका क्षेत्रहरू पनि तत्कालै पूर्ण सञ्चालनमा आउन नसक्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने बताए।
खुला गरिएका क्षेत्रमा सामाजिक दूरी कायम गर्नुपर्ने र जनस्वास्थ्य सम्बन्धी मापदण्डको पालन गरिनुपर्ने सरकारले जनाएको छ।