एजेन्सी। युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज तेस्रो क्वार्टरफाइनल खेल हुँदैछ ।
नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन च्याम्पियन बायर्न म्युनिखको सामना गर्दैछ ।
पोर्चुगलको राजधानी लिस्बोन स्थित स्टाडियो ला लुजमा हुने यो खेलमा दुवै टोली एक–अर्कालाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिनेछन् ।
बार्सिलोना र बायर्नले सन् २०१४–१५ को सिजनपछि च्याम्पियन्स लिगमा पहिलो पटक खेल्न लागेका हुन् । सो सिजन बार्सिलोनाले बायर्नमाथि सेमिफाइनलमा समग्रमा ५–३ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।
बार्सिलोना लगातार १३औं पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने एक मात्र टोली हो । २००७–०८ यता बार्सिलोनाले लगातार क्वार्टरफाइनल पुग्दै च्याम्पियन्स लिगमा कीर्तिमान बनाएको छ ।
बार्यनले यो सिजन च्याम्पियन्स लिगमा आठ खेलमा जित निकालेको छ । यसअघि बायर्न इंग्लिस क्लब चेल्सी माथि जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको हो भने बार्सिलोनाले इटालियन क्लब नापोलीलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।