काठमाडौं । दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रीकेटको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १७ रनले हराउदै दिल्ली आईपीएलको फाइनलमा प्रवेश गरेको हो ।
आबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि केन विलियम्सनले ६७ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जीत दिलाउन सकेनन् । यस्तै अब्दुल समादले ३३ रन जोड्दा राशिद खानले ११ रन बनाए ।
मनिस पाण्डे २१ रनमा आउट हुँदा प्रियान गार्गले १७ रन बनाए । जासन होल्डरले ११ रन तथा कप्तान डेभिड वार्नर मात्र २ रन बनाएर आउट भए ।
हैदराबादलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । मार्कुस स्टोनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।
दिल्लीका लागि शिखर धवनले ७८ रनको अर्धशतकीय पारी खेले । शिम्रन हिटमायर ४२ रनमा अविजित रहे ।
यस्तै मार्कुस स्टोनिसले ३८ रन जोड्दा कप्तान श्रेयस एयरले २१ रन बनाए ।
दिल्ली विरुद्ध हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १/१ विकेट लिए ।
यससँगै दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।
तर, यो सिजनमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई भने दिल्लीले मैदान उतारेन ।
अब दिल्लीले उपाधिका लागि साविक विजेता समेत रहेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ ।
हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ ।
यस अघि दिल्ली पहिलो क्वालिफायरमा मुम्बईसँग नै ५७ रनले पराजित भएको थियो । तर, आईपीएलको नियम अनुसार पराजित भएपनि दिल्लीले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।
हैदराबादले भने एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।