काठमाडौं । सत्तारुढ दल नेकपामा यतिबेला चर्को विवाद जारी रहेको छ ।
विवादको पछिल्लो श्रृंखला भने प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार, राजदूतहरु नियुक्ति र भारती जासूस प्रमुखसँगको गोप्य भेटवार्तापछि चर्किएको हो ।
विवाद उग्र हुँदै जाँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता माधव नेपाल पक्षका पाँच सचिवालय सदस्यले बैठक बोलाउन माग गर्दै प्रधानमन्त्रीलाई पत्र नै दिएका थिए ।
त्यसपछि गत शुक्रवार सचिवालय बैठक बस्यो । बैठकमा प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव एकल रुपमा पेश गरे जसमा ओलीमाथि थुप्रै आरोपहरु लगाइएका छन् ।
उक्त बैठकपछि नेकपाका नेताहरु यसरी विभाजित भएका छन् कि कतै पार्टी फुट्ने त होइन भन्ने संशयको अवस्थामा समेत पुगेको छ ।
राजदूतको चर्चा
दुई वामपन्थी पार्टी एकता पछि बनेको दुई तिहाइ नजिक जीत हातपारेको नेकपामा शुरुदेखिनै विवाद चल्ने गरेको थियो ।
नेकपामा आन्तरिक सत्ता संघर्ष र विवाद हुँदा यसअघि राजदूत होउ याङछी निकै सक्रिय बन्ने गरेकी थिइन् ।
उनी कहिले अध्यक्ष प्रचण्ड त कहिले ओलीकहाँ पुग्ने गरेकी थिइन् । त्यस्तै उनले माधवन नेपाल झलनाथ खनाल लगायका शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने गरेकी थिइन् ।
उक्त भेटहरुमा उनले पार्टीमा एकता कायम राख्न दवाव दिने गरेको बताइन्छ । जसको चर्को आलोचनासमेत हुने गरेको थियो ।
तर, यसपटक पार्टी विवाद फुटको संघारमा पुग्नै लाग्दा पनि चिनियाँ राजदूतको सक्रियता छैन ।
सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले याङछी नआएको भएर नेकपाको विवाद जारी नै रहेको भन्दै नेकपा नेताहरुमाथि कटाक्ष गरेका छन् ।
कतिपयले चिनियाँ राजदूत नआएर नेकपाको विवाद नमिलेको हो भन्दै प्रश्न गरेका छन्।
दशैंको समयमा उनी ‘रेसम फिरिरि….’ बोलको नेपाली गीत गएर भाइरल बनेकी थिइन् ।