काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ बनेका छन् ।
गत बिहिबार एएफसीले किरणसहित एसियाका शीर्ष १० खेलाडीको सूची सार्वजनिक गर्दै भोटिङका लागि आह्वान गरेको थियो ।
अप्रिल ४ सम्मका लागि भोटिङ गर्ने समय तोकिएकोमा किरणले सर्वाधिक भोट पाएका छन् ।
किरणले सर्वाधिक ५५.६९ प्रतिशत भोट पाए। दोस्रो स्थानमा साउदी अरेबियाका सालेह अल सेहरी रहे । उनले २०.७२ प्रतिशत भोट प्राप्त गरे । तेस्रो स्थानमा रहेका इराकका अला अली मवाईले १०.१६ प्रतिशत भोट पाए ।
सूचीमा किरण, सालेह र अलासहित यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी र ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका थिए ।
एएफसीले गत साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनको आधारमा १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । जसको विजेता वेबसाइटमार्फत आउने भोटको आधारमा तय गरिने एएफसीको भनाइ थियो ।
साताको उत्कृष्ट खेलाडीको सूचीमा परेर विजेता हुने किरण पहिलो नेपाली हुन् ।
किरणको कप्तानीमा नेपालले पहिलो उपाधि जित्ने क्रममा गत साता थ्री नेसन्स कपको उपाधि जितेको थियो। दशरथ रंगशालामा भएको फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोलले पराजित गरेको थियो ।
नेपाललाई उपाधि दिलाएको दुई दिनअघि किरण भारतको आई लिग सिजन २०२१ को उत्कृष्ट गोलकिपर चुनिएका थिए ।