युरोकपमा आज तीन खेल, कुन कुन टिम भिड्दै ?

  • प्रकाशित मिति : २०७८ असार २, बुधबार
  • nepaltale.com

एजेन्सी। युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (बुधबार) तीन खेलहरु हुँदैछ। युरोकपमा आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ।

आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ। फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० ले हराएको थियो। ३ अंक जोडेको फिनल्याण्ड समूहको दोस्रो स्थानमा रहेको छ।

रुस भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा रुस बेल्जियमसँग ३-० गोल अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘ए को’ वेल्स र टर्कीबीचको खेल राति पौने १० बजे सुरु हुनेछ।

वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो। टर्की पहिलो अंक जोड्न चाहन्छ। टर्कीलाई पहिलो खेलमा इटालीले ३-० ले हराएको थियो। यस समूहमा वेल्स १ अंक जोडेर तेस्रो र टर्की अंक विहीन रहदै पुछारमा रहेको छ।

आज हुने तेस्रो खेलमा इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। इटाली र स्विजरल्याण्डबीचओ खेल राति पौने १ बजे सुरु हुनेछ। इटाली लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा इटालीले टर्कीलाई हराएको थियो।

इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। स्विजरल्याण्ड १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १-१ गोलको बराबरी खेलेको थियो। तर, आज इटालीलाई हराएर स्विजरल्याण्ड पहिलो जित निकाल्न चाहन्छ।