पहिलो हाफमा इटालीलाई अग्रता, कम्ब्याक गर्ला त बेल्जियमले ?

  • प्रकाशित मिति : २०७८ असार १९, शनिबार
  • nepaltale.com

एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत क्वाटरफाइनलको दोस्रो खेलमा इटालीले बेल्जियमविरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ ।

खेलको सुरुवाती समय दुवै टोलीले आक्रमण बुन्दै रोमान्चक खेल खेलेका थिए । इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले दुई सानदार बचाउ गर्दै खेलमा कायम राखे । त्यसअघि इटालीका लिओनार्डो बोनुचिले गोल गरेपनि रेफ्रीले भीएआरको सहयोग लिँदै उक्त गोललाई मान्यता दिएका थिएनन् । तर इटालीले त्यसपछि खेलमा दबाब कायम गर्दै २ गोलको गर्दै अग्रता लियो । इन्ज्युरी समयमा बेल्जियमले पेनाल्टीमा एक गोल भने फर्कायो ।

खेलको ३१ औं मिनेटमा निको बरेल्लाले गोल गर्दै इटालीलाई अघि बढाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र डिफेन्सको चुनौती चिर्दै शक्तिशाली प्रहारमा गोल गरेका थिए । मार्को भेराट्टीले दिएको पासलाई नियन्त्रणमा राखेर डिफेन्सलाई बिट गरेपछि उनको प्रहार गोल भएको थियो ।

४४ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले इटालीको अग्रता दोब्बर पारे । मैदानको बायाँ भागबाट बल लिँदै अघि बढेका इन्सिग्नेको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले डाइभ दिएपनि बचाउन सकेनन् ।

इन्ज्युरी समयमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई खेलमा कायम नै राखे । इटालीका डी लोरेन्जोले डोकुलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा लुकाकुले गोलरक्षक जियानलुइजी डोनारुम्मालाई विपरित दिशामा पठाउँदै गोल गरे ।

यस खेलको विजेताले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले आज भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा समेटिएको स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।