अर्जेन्टिना कोलम्वियालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै फाइनलमा, ब्राजिलसँगको भेट पक्का

  • प्रकाशित मिति : २०७८ असार २३, बुधबार
  • nepaltale.com

एजेन्सी। इमिलियानो मार्टिनेज टाइब्रेकरमा नायक बन्दा अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ । मार्टिनेजले तीन पेनाल्टी बचाएपछि अर्जेन्टिनाले कोलम्वियालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो । कोलम्वियाको पहिलो प्रहारमा जुआन कोर्डाडोले गोलमा परिणत गरेका थिए । त्यसपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गरेका थिए । डाभिन्सन सान्चेजको प्रहाराई अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले बचाउँदा अर्जेन्टिनाका रोड्रिगो डि पउलको प्रहार आकासिएको थियो ।

त्यसपछि यारी मिनाको प्रहारलाई मार्टिनेजले विफल पार्दा अर्जेन्टिनाका लियान्द्रो ड्यानियल पारेडेसले गोल गर्दै टोलीलाई अघि बढाए । त्यसपछि मिगुइल बोर्जाले गोल गर्दै कोलम्वियाको सम्भावना जीवित राखेको थियो । लोउटारो मार्टिनेज गोल गरेपछि अर्जेन्टिना फाइनल नजिक पुगेको थियो । कोलम्वियाका इडविन कोर्डाेनाको पेनाल्टीलाई मार्टिनजेल विफल पार्दै अर्जेन्टिनालाई फाइनलको बाटोमा डोर्याए ।

ब्राजिलमा बुधबार बिहान भएको खेलको सातौ मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । उनले कप्तान लियोनेल मेस्सीले पेनाल्टी बक्समा दुई डिफेन्डरबीचबाट दिएको पासलाई सदुपयोग गर्दै गरेको प्रहारले गोलरक्षक डेभिड ओस्पिनालाई बिट गर्न सफल भएको थियो । मेस्सीले जारी कोपामा चार गोल र ५ असिस्ट दिएका छन् ।

लगत्तै नवौं मिनेटमा जुआन कोर्डाडोको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाएका थिए । १३औं मिनेटमा कोलम्वियाले दवाव बढाएपनि नाहुइल मोलिना र निकोलस ट्याग्लियाफिकोले कुनै खतरा हुन दिएन । २४औं मिनेटमा जुआन कोर्डाडोको कर्नरलाई गुइडो रोड्रिग्वेजले हेडरमार्फत क्लियर गर्दै कोलम्वियाको बराबरी टारे ।

३६औं मिनेटमा राफयल सान्तोष बोरेको पेनाल्टी बक्सबाहिरको भली प्रहार निकोलस ओटामेन्डलाई डिफ्लेक्ट हुदै पोस्टमा लाग्दै बाहिरिदा कोलम्विया बराबरीबाट चुक्यो । त्यसमै प्राप्त कर्नरमा यारी मिनाको हेडर क्रसबारमा लागेर बाहिरिदा कोलम्वियाले खेललाई बराबरी गर्न सकेन । ४४औं मिनेटमा कप्तान लियोनेल मेस्सीको कर्नरमा निकोलस गोन्जालेसको ६ यार्ड भित्रको क्लियर हेडरलाई गोलरक्षक ओस्पिनाले पोजिसनमा रहेर उत्कृष्ट बचाउ गर्दा अर्जेन्टिना अग्रता दोब्बर पार्नबाट चुक्यो ।

एक गोलले पछि रहेको कोलम्वियाले दोस्रो हाफमा अर्जेन्टिनालाई दवाव बढाउदै बराबरी गोल फर्काउन सफल भयो । ४८औं मिनेटमा यिम्मी चाराको क्रसलाई गोलरक्षक मार्टिनेजले डाइभ दिदै बचाए । ६२औं मिनेटमा कोलम्वियाले बराबरी गोल फर्काउन सफल भयो । लुइस डियाजले इडविन कार्डानाको चलाखीपुर्ण फ्रिकिक पासमा पेज्जेलासँग संघर्ष गर्दै आफै अनियन्त्रित भएको अवस्था गोलरक्षक पनि अघि बढेको अवस्थामा फार पोस्टमा उत्कृष्ट फिनिस गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएका थिए ।

७४औं मिनेटमा अर्जेन्टिनाले खेलमा अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । सब्सिच्युट एन्जल डि मारियाले वान भर्सेस वानको अवस्थामा गोलरक्षक डेभिड ओस्पिना आफ्नो एरियाभन्दा अघि बढेको अवस्थामा उनलाई बिट गर्दै गरेको लोउटारो मार्टिनेजलाई दिएको पासमा उनको प्रहारलाई यारी मिनाले गोललाइनबाट क्लियर गर्दै संकट टारे । उक्त रिबाउन्डलाई डी मारिया आफैंले पनि गोलरक्षक पोस्टमा नहुँदा गोल गर्न सकेनन् ।

८२औं मिनेटमा डि मारियाकै फेन्सी फुटवर्क पासमा मेस्सीको प्रहार पोस्टमा लाग्दै बाहिरिदा अर्जेन्टिनाले अग्रता बढाउन सकेन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा काउन्टर अट्याकमा लुइस डियाजलाई जर्मन पेजेलाले कुनै अवसरदिएन । खेलको अन्त्यतिर अर्जेन्टिनाले कोलम्वियामाथि दवाव बढाएपनि गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा लम्बिएको थियो ।

अब अर्जेन्टिनाले उपाधिका लागि ११ जुलाईमा ब्राजिलको सामना गर्नेछ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।