युरो कप : फाइनलमा इङ्ल्यान्ड र इटाली भिड्दै, कस्ले जित्ला उपाधि ?

  • Published Date : 2021-07-10
  • nepaltale.com

काठमाडौं । इङ्ल्यान्डको राजधानी लन्डनस्थित ‘वेम्बली’ मैदानले भोलि (आइतवार) राती हुने युरो कप २०२० फाइनल खेलको आयोजना गर्दैछ।

गत ‘जुन ११’ देखि शुरू भएको यस संस्करणको युरो कपमा ११ आयोजक सहर रहेका थिए। तर ‘जुलाई ११’ सम्म आइपुग्दा मात्र एक सहर र दुई दावेदार राष्ट्र बाँकि छन्।



आइतवार खेलिने फाइनल खेलमा इङ्ल्यान्ड आफ्नो घरेलु मैदानमा इटालीसँग प्रतिस्पर्धा गर्न तयार देखिन्छ। ‘इट्स कमिङ होम’, यो नारा हरेक इंग्लिश समर्थकको मन्त्र नै बनिसकेको छ।

इटाली पनि उपाधिलाई आफ्नो राजधानी रोम नै लिएर जान आतुर देखिन्छ । एक वाक्यमा भन्नु पर्दा दुवै टोलीलाई भोलिको फाइनल खेल आ-आफ्नो कारणले अपरिहार्य रहेको छ।

सन् १९६६ मा फिफा विश्वकपको उपाधि जिते पश्चात् पहिलो पटक कुनै पनि प्रमुख प्रतियोगितको फाइनलमा पुगेको इङ्ल्यान्ड घरेलु मैदान र घरेलु समर्थकमाझ आफ्नो पहिलो युरोपियन उपाधि उचाल्न चाहन्छ।

त्यस्तै सन् १९६८ मा आफ्नो एकमात्र युरो कप उपाधि जितेको इटाली पनि इङ्ल्यान्डलाई हराउँदै आफ्नो पुरानो घाउ मेट्न चाहन्छ। पुरानो घाउ भन्नाले सन् २००० र २०१२ को युरो कप फाइनलमा इटालीले पराजय भोगेको थियो। अझै सन् २०१८ फिफा विश्वकपमा त इटाली छनोट पनि हुन सकेको थिएन। फुटबलमा गर्विलो इतिहास बोकेको एउटा राष्ट्रलाई सो कुरा कदापि मन्जुर हुन सक्दैन।

यस प्रतियोगितामा शानदार फुटबल प्रदर्शनी गरेका दुई टोली अन्ततः फाइनलमा एक आपसमा प्रतिस्पर्धा गर्दैछन्। समूह चरणदेखि अहिलेसम्म शत प्रतिशत नतिजा निकालेको इटाली यस प्रतियोगितामा उत्कृष्ट फुटबल खेल्ने टोलीमा पर्दछ। बलिया र दावेदार मानिएका राष्ट्र बेल्जियम र स्पेनलाई पाखा लगाउँदै फाइनलसम्मको यात्रा तय गरेको इटालीलाई इङ्ल्यान्डको चुनौती सजिलो भने छैन।

६ मध्ये ५ खेल घरेलु मैदानमा खेलेको इंग्लिश टोलीले प्रदर्शनी भने उच्च स्तरको देखाएको छ। सेमी फाइनलसम्म आइपुग्दा इङ्ल्यान्डले मात्र एक गोल खाएको छ। त्यो पनि डेनमार्कविरुद्धको सेमी फाइनल खेलमा फ्रिकिक मार्फत गोल खाएको इंग्लिश टोलीले ‘ओपन प्ले’मा भने आफ्नो पोस्टमा गोल हुन दिएको छैन।

समग्रमा भन्नु पर्दा डिफेन्समा सधैं सशक्त देखिएको इटालीलाई यस प्रतियोगितामा कडा टक्कर दिएको टोली इङ्ल्यान्ड नै हो। दुई उत्कृष्ट डिफेन्सिभ टोली एक आपसमा भिड्दा कुन टोलीले बाजी मार्ने हो, त्यो भने कौतुहलताको विषय बनेको छ।