सत्ता गठबन्धनका सबै दलले टुंग्याए मन्त्रीको नाम, को को बन्दैछन् मन्त्री

  • प्रकाशित मिति : २०७८ आश्विन २१, बिहीबार
  • nepaltale.com

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी सबै दलले सरकारमा हुने मन्त्रीको नाम करिब करिब टुंग्याएका छन्। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबार बालुवाटार छलफल गरी आफ्नो भागमा परेको मन्त्रीको नाम लगभग तय गरेको छ। कांग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालय पाएको छ।

पार्टीको भागमा परेका मन्त्रालयमध्ये २ मन्त्रालय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षलाई दिने सहमति कांग्रेसको बैठकमा भएको बताइएको छ।

कांग्रेसमा लगभग टुंगियो : पौडेलले ३ मन्त्रालय मागे पनि अन्तिममा २ वटामै सहमत भएको महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। पौडेलले नयाँ मन्त्रीको नाम छिट्टै दिने उनले बताए। पौडेल समूहबाट मन्त्रीमा मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, सुजाता कोइराला, तेजुलाल चौधरी लगायतको नाम चर्चामा छ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एक मन्त्रीको नाम दिन आग्रह गरेपछि सिटौलाले आफूनिकट उमाकान्त चौधरीलाई सिफारिस गरेका थिए। तर कसलाई कुन मन्त्रालय दिने सार्वजनिक गरिएको छैन।

कांग्रेसबाट अहिलेसम्म गृह मन्त्रालयमा बालकृष्ण खाण, परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्का र कानुन मन्त्रालयमा ज्ञानेन्द्रबहादुर कार्की तथा स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री उमेश श्रेष्ठले नेतृत्व गरिरहेका छन्।

माओवादी केन्द्रका मन्त्री तय : नेकपा माओवादी केन्द्रले पनि तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ। माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज नयाँ मन्त्री बन्ने भएका छन्। बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ। माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री छन्।

जसपामा नाम टुंगो लाउने जिम्मा शीर्ष नेतालाई : सत्तारुढ गठबन्धनको अर्को दल जनता समाजवादी पार्टी (जसपा)ले भने पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिएको छ ।

पार्टी कार्यालय बालकुमारीमा आज (बुधबार) बसेको केन्द्रीय कार्यकारिणी बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मा उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको नेता महेन्द्र राय यादवले बताए।

जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाउने सहमति गठबन्धनमा बनेको थाहा खबरले उल्लेख गरेको छ ।

एकीकृत समाजवादीबाट पनि नाम तय : गठबन्धनमा रहेको अर्को दल एकीकृत समाजवादी पार्टीले पनि मन्त्रीको नाम करिब टुंग्याइसकेको बताइएको छ। नयाँ मन्त्रीलाई १र२ दिनमै शपथग्रहण गराउने तयारी रहेको बुझिएको छ।

देउवा प्रधानमन्त्री नियुक्त भएको झन्डै ३ महिना पुग्दासमेत सरकारले पूर्णता नपाउँदा उनको सर्वत्र आलोचना भइरहेको छ।