काठमाडौं। साफ च्याम्पियन्सिप अन्तर्गत आइतबार राति सम्पन्न खेलमा भारतसँग नेपाल १–० ले पराजित भएको छ। पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।
खेलको ८२ औं मिनेटमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले पहिलो गोलगर्दै नेपालविरुद्ध अग्रता बनाएका थिए। नेपालले कुनै गोल फर्काउन नसकेपछि भारतले खेल जितेको हो।
क्षेत्रीले फारुख चौधरीको पासमा आकर्षक गोल गरेका थिए। गोल खाएपछि नेपालले पनि आक्रामक शैली अपनाएको थियो यद्यपी गोल भने गर्न सकेन।
भारतलाई आज जितेको भए नेपाल प्रतियोगिताको फाइनलमा पुग्ने थियो। भारतको सपना अधुरो बन्ने थियो। तर खेलमा जित निकालेसँगै भारतले प्रतियोगितामा फाइनलमा पुग्ने सम्भावना जिवित राखेको छ।
यतिबेला लिगमा श्रीलंका ६ अंकसहित शीर्ष स्थानमा छ भने ६ अंक नै भएको नेपाल दोस्रो स्थानमा झरेको छ। भारत ५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ।
अब प्रतियोगितामा एक चरणको मात्र खेल बाँकी छ जहाँ दुई खेल हुनेछ। अब आगामी खेलमा ६ अंक भएको नेपालले ४ अंक भएको बंगलादेशसँग खेल्नेछ भने ५ अंक भारतले ६ अंक भएको माल्दिभ्ससँग खेल्नेछ।
नेपालले खेल जितेमा अथवा बराबरी खेलेता पनि उ फाइनलमा पुग्ने निश्चित छ। हारेमा भने उ फाइनल पुग्नेछैन।