सरकारले माग्यो बेरोजगारको सूची, रोजगारी पाउन कसरी दिने आवेदन ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २६, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरुका लागि आवेदन मागेको छ ।

बेरोजगारहरुलाई १ सय दिन बराबरको रोजगार सुविधा प्रत्याभूति गराउन भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुमार्फत् विवरण लिन लागेको हो ।



बेरोजगारका रुपमा संकलित तथ्याङ्कलाई सरकारले आगामी आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गर्नेछ ।

बेरोजगार व्यक्ति १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्नेछ भने निवेदन दिँदाको मितिसम्म सोहि आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ ।

त्यस्तै, स्वरोजगार व्यक्तिहरुको हकमा वार्षिक ५७ हजार ७ सय रुपैयाँ भन्दा कम आय भएका व्यक्तिले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिन पाउनेछन् ।

रोजगार कार्यक्रमका लागि परेका निवेदनहरुलाई वडा कार्यालयले छानबिन गरेर बेरोजगार ठहर गर्नुपर्नेछ । त्यस्तै, निवेदनलाई स्थानीय निर्देशक समितिले छानबिन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले स्वीकृत गर्नेछ ।

रोजगारीको हक मौलिक हकका रुपमा राखिएको छ । प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पुरा गरेका नेपाली नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिनाभर आवेदन दिन सक्ने श्रम मन्त्रालयले बिहीबार सूचना जारी गरेर जानकारी गराएको छ ।