खाने तेलको मूल्य प्रतिलिटर ५० रूपैयाँले वृद्धि

  • प्रकाशित मिति : २०७९ जेष्ठ ८, आईतवार
  • nepaltale.com

काठमाडौं। खाने तेलको मूल्य प्रतिलिटर ५० रूपैयाँले वृद्धि भएको छ। पछिल्लो एक सातामा नै लिटरको ५० रुपैयाँले बढेको हो । बजारमा भुटेको तोरी, काँचो तोरी, भटमास र सूर्यमूखीको तेल पाइन्छ।

स्थानीय तहको चुनावताका प्रतिलिटर तीन सय १० रूपैयाँमा बिक्री भएको सूर्यमूखी तेल चुनाव सकिएको एक सातामै प्रतिलिटर ५० रूपैयाँ बढेर तीन सय ६० रूपैयाँ पुगेको छ। अन्य तेलको तुलनामा सूर्यमुखी तेल बढी खपत हुन्छ। व्यवसायीले पनि सूर्यमूखी तेलको मूल्य ह्वात्तै बढाएका छन्।

त्यस्तै, त्यो समय भटमासको तेल प्रतिलिटर तीन सय चार रुपैयाँमा बिक्री भएकाे तेल १६ रूपैयाँ बढेर तीन सय २० रूपैयाँमा बिक्री भएको नेपाल खुद्रा व्यापार संघले दिएको तथ्यांकले देखाउँछ।

पछिल्लो एक सातामै उद्योगबाट प्रतिलिटर ५० रूपैयाँ मूल्य बढेर आएको संघका महासचिव अमुलकाजी तुलाधारले बताए। ‘हामीले मूल्य बढाएका होइनौ, उद्योगबाटै बढेर आएको छ,’ उनले भने।

उद्योगबाट मूल्य बढेर आएपछि आफूहरू पनि मूल्य बढाउन बाध्य भएको उनको भनाई छ। पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो आएसँगै वाणिज्य विभागले बजार अनुगमनलाई तीव्र बनाएको विभागका महानिर्देशक लिला प्रसाद शर्माले बताए।

अनुगमनले अहिलेसम्म स्रोतमै मूल्य बढेको नदेखिएको भन्दै उनले तेलका केहीले ब्राण्डले एमआरपी मूल्यभन्दा बढी लिएको गुनासो आएको र प्रमाणित भए हदैसम्मको कारबाही हुने बताएका छन् ।

खुद्रा व्यापार संघको तथ्यांकअनुसार भुटेको तोरीको तेल र काँचो तोरीको तेलको मूल्य भने यथावत नै छ। बजारमा भुटेको तोरीको तेल प्रतिलिटर चार सय दश रूपैयाँ र काचो तोरीको तेल प्रतिलिटर ३ सय ७५ रूपैयाँमा बिक्री भइरहेको छ।