आर्सनलको विजयी सुरुवात, क्रिस्टल प्यालेसलाई २-० ले हरायो

  • प्रकाशित मिति : २०७९ श्रावण २१, शनिबार
  • nepaltale.com

लन्डन। आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० ले हरायो ।

प्यालेसको मैदान सेलहर्स्ट पार्कमा आर्सनलका लागि ग्याब्रिएल मार्टिनेलीले अग्रता दिलाउँदा विपक्षी क्याप्टेन मार्क गुएहिको आत्मघाती गोल जितका लागि पर्याप्त रह्यो । दुवै हाफमा १-१ गोल सम्भव भएको थियो ।

२० अ‍ौं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई अघि बढाए । उनले डेब्यु गरिरहेका अलेक्जेन्डर जिन्चेन्कोको पासमा गोल गरेका थिए । कर्नरमा जिन्चेन्कोले गरेको हेडरलाई गोललाइन नजिकबाट मार्टिनेलीले हेडरमार्फत अग्रता दिलाएका थिए ।

खेल सकिन ५ मिनेट बाँकी हुँदा आर्सनल अग्रता दोब्बर पार्न सफल भयो । बुकायो साकाको क्रस गुएहिले आफ्नै पोस्टतर्फ पठाएपछि पाहुना टोली २-० ले अघि बढेको थियो ।

यस जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ । गत सिजन सुरुवातकै तीन खेल गुमाएको आर्सनलले यसपटक भने पहिलो खेलमै जित हासिल गर्यो ।