नेपाल–केन्या क्रिकेटः नेपालद्वारा क्लिन स्विप

  • प्रकाशित मिति : २०७९ भाद्र २०, सोमबार
  • nepaltale.com

केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्विप गरेको छ।

नेपालले घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको छ। केन्याको नैरोबीको जिमखाना मैदानमा आज भएको खेलमा केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको थियो।

जवाफमा नेपालले ४७ दशमलव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले। अर्जुनले ५८ रनको योगदान दिए भने आसिफले ५६ रन जोडे।

यसैगरी बसिर ५२ रनमा अविजित रहँदा कप्तान रोहित पौडेलले ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए।

केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १र१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो।

केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले। यसैगरी लुकास एनडानडासनले अविजित रहँदै ५९ रनको योगदान दिएका थिए । सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए। कप्तान शेम एनगोचे १७ रनमा आउट भए।

नेपालका सोमपाल कामी र आदील अन्सारीले समान २र२ विकेट लिए भने बसिर अहमद र शाहब आलमले समान १र१ विकेट लिए । उक्त सिरिजअन्तर्गत पहिलो एकदिवसीय खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा १७ रनले विजयी भएको थियो।

यस जितसँगै नेपालले केन्याविरुद्धको दुवै सिरिज आफ्नो पक्षमा पारेको छ । नेपालले यसअघि पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि ३–२ ले जितेको थियो।