लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी १८ अक्टोबरमा विशेष साधारणसभा गर्ने भएको छ।
संघको कार्यसमितिको गत सेप्टेम्बर २१ मा बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको जनाइएको छ।
उपाध्यक्ष सुनिलबाबु खड्काको अध्यक्षतामा बसेको बैठकले वर्तमान असामान्य परिस्थितिमा संघको विशेष साधारणसभा एनआरएनए आइसीसी र पञ्जिकृत सदस्यहरुको चाहना बमोजिम निर्धारित मितिमा गर्ने निर्णय गरेको महासचिव खुशी लिम्बूले बताए। पश्चिम लण्डनस्थित ‘ब्लू रुम’ मा बिहान १० बजेबाट कार्यक्रम शुरु हुने जानकारी उनले गराए।
बैठकले विशेष साधारणसभा तयारीको लागि कार्यसमितिका सबै लागि पर्ने निर्णय गर्दै वार्षिक प्रगति प्रतिवेदनको लागि महासचिव खुशी लिम्बूलाई र आर्थिक प्रतिवेदनको तयारी कोषाध्यक्ष विष्णु खरेललाई जिम्मेवारी तोकेको छ।
त्यस्तै, विधानसम्बन्धी प्रस्तावहरु तयार गर्न उपाध्यक्ष नारायण कँडेल र च्यारिटीका प्रतिवेदन तयार गर्न उपाध्यक्ष गोविन्द खरेललाई जिम्मेवारी तोकिएको छ ।
बैठकको निर्णयअनुसार १८ अक्टोबरमा हुने विशेष साधारण सभाबारे एनआरएनए यूकेका सबै पञ्जिकृत सदस्यहरुलाई आवश्यक जानकारी गराइने र निमन्त्रणा गरिने भएको छ ।
तर सम्बन्धित सबै पञ्जिकृत सदस्यहरुसम्म पुग्न उनीहरुको इमेल ठेगाना चाहिने भएकोले एनआरएनए आइसीसीलाई यूकेका पञ्जिकृत सदस्यहरुको इमेल ठेगाना डेटाबेस उपलब्ध गराउन अनुरोध गर्ने पनि निर्णय भएको छ।
एनआरएनए यूकेभित्रको पछिल्लो विवादबीच आइसीसीले अध्यक्ष प्रेम गाहामगरलाई पदमुक्त गरेको पत्र पठाएपछि कार्यसमितिको बहुमतले साधारणसभा गर्न लागेको हो।
गाहामगरले भने आफू सदस्यहरुको मतबाट निर्वाचित अध्यक्ष भएकाले आइसीसीलाई पदमुक्त गर्ने अधिकार नरहेको भन्दै उक्त पत्र खारेज गर्ने घोषणा गरेका छन्।