लन्डन । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह हुन केही समय बांकी रहंदा विश्वको ध्यान लन्डनतिर खिचिएको छ ।
यही ६ मे शनिबार राजा चार्ल्सको रानी (क्विन कन्सोर्ट) कमिलाका साथ लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर आबीमा राज्याभिषेक हुने तयारी छ ।
बेलायतमा गएको ९०० वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरुको राज्याभिषेक हुने गरेको छ। उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा हुनेछन् ।
राजा चार्ल्सले राजमुकुट समेत पहिरिने उक्त समारोहमा विश्व नेताहरु, राजपरिवार सदस्य, सेलिब्रेटी, स्वयंसेवक, सशस्त्र फौज लगायत झण्डै दुई हजार पाहुना सहभागी हुने अपेक्षा छ ।
टेलिभिजनमार्फत संसारभरिका करोडौं मानिसले प्रत्यक्ष हेर्ने अपेक्षा गरिएको एउटा बृहत् समारोहमा आर्चबिशप अफ क्यान्टरबरीले राजा चार्ल्सको शिरमा श्रीपेच पहिरयाउने छन्।
२.२३ किलो तौलको सुन र हिरा जवाहरात जडित उक्त श्रीपेच राजाहरुले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् ।
राजाले यस समारोह सन् १९५३ मा भएको आफ्नी आमाको राज्याभिषेकको तुलनामा सानो, छोटो र विविधतायुक्त होस् भन्ने चाहेका बीबीसीले जनाएको छ ।
बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजावेथ द्वितीयाको गत सेप्टेम्बरमा निधन भएपछि ७३ वर्षको उमेरमा राज्यरोहण गरेका चार्ल्स् संसारमै सबैभन्दा बढी उमेरका राजा हुन्। उनी अहिले १५ वटा कमनवेल्थ मुलुकका प्रमुख पनि छन् ।
उनी १४ नोभेम्वर १९४८ मा बकिङ्घम राजदरबारमा जन्मेका हुन्। उनकी आमा रानी एलिजाबेथ द्वितीयले गद्दी आरोहण गर्दा उनी चार वर्षका थिए। उनले लन्डन र स्कटल्याण्डमा अध्ययन गरेका थिए।
२० वर्षको हुँदा उनलाई ‘प्रिन्स अफ वेल्स’ घोषणा गरिएको थियो।
उनले २९ जुलाई १९८१ मा लेडी डायना स्पेन्सरसंग बिहे गरेका थिए। उनीहरुका दुई सन्तान छन् – युवराज विलियम र राजकुमार ह्यारी । उनीहरुबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेन। सन् १९९६ मा उनीहरु अलग अलग बस्न थाले। ३१ अगष्ट १९९७ मा प्यारिसमा एउटा कार दुर्घटनामा लेडी डायनाको निधन भयो।
युवराज चार्ल्सले सन् २००५ मा क्यामिला पार्करसंग विधिवत् बिहे गरे।
राजा चार्ल्सले गत सेप्टेम्बरमा शपथ लिंदै गर्दा आफ्नी आमाको उदाहरण पछ्याउने प्रतिवद्धता गर्दै भनेका थिए- ‘अवधि, प्रतिबद्धता र समर्पणको हिसाबले उहाँको शासनसंग अरु कसैको तुलना हुन सक्दैन ।’
बेलायत र नेपालबीच सदियौं लामो मैत्रीपूर्ण तथा आत्मीय सम्बन्ध छ । बेलायती महारानी एलिजावेथ द्वितीयाले नेपालमा दुई ऐतिहासिक राजकीय भ्रमण गरेकी थिइन् ।