भारतमा कोरोना संक्रमण (कोभिड–१९) तिब्र रुपमा फैलिएको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४ हजार ८ सय ६४ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा एकै दिन यतिधेरै संक्रमितको संख्या थपिएको यो पहिलो पटक हो।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा कोरोना भाइरसबाट ११८ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ७१ पुगेको छ भने ९० हजार ६ सय ४८ जना संक्रमित बनेका छन्।
जसमध्ये ३४ हजार २ सय २४ जना उपचारपछि निको भएका छन् भने ५३ हजार ५ सय ५३ जनाको उपचार भइरहेको छ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ। कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख १३ हजार १ सय ८० जनाको मृत्यु भइसकेको छ भने ४७ लाख १९ हजार ४४ जना संक्रमित बनेका छन्।