बेलायती अर्थतन्त्रमा झिनो सुधार, कर वृद्धि गर्ने तयारीमा सरकार

  • प्रकाशित मिति : २०८२ आश्विन ३१, शुक्रबार
  • नेपाल टेल संवाददाता

लण्डन । बेलायतको अर्थतन्त्र अगस्ट महिनामा ०.१ प्रतिशतले वृद्धि भएको आधिकारिक तथ्याङ्कले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार यो वृद्धि मुख्यतः उद्योग तथा उत्पादन क्षेत्रमा आएको सुधारका कारण हो।

सरकारले अर्थतन्त्रलाई मजबुत बनाउने प्राथमिकता लिएपनि आर्थिक वृद्धि सुस्त रहने अर्थविदहरुको अनुमान छ। उनीहरूका अनुसार आगामी महिनाको बजेटमा चान्सलर राचेल रिभ्सले घोषणा गर्ने नीतिहरू प्रतीक्षामा बसेका कारण हाल बजार अनिश्चित छ।



विश्लेषकहरूका अनुसार कर्जाको नियम पुरा गर्न सरकारले कर वृद्धि वा खर्च कटौती गर्नुपर्ने सम्भावना उच्च छ। इन्स्टिच्युट फर फिस्कल स्टडिज (आईएफएस) का अनुसार, सरकारले आफ्नो वित्तीय लक्ष्य पूरा गर्न २२ अर्ब पाउण्ड जुटाउनुपर्नेछ र त्यसका लागि कर वृद्धिको सम्भावना लगभग निश्चित छ।

आईएफएसले सुझाव दिएको छ कि रिभ्सले आगामी बजेटमा साहसिक निर्णय लिनुपर्छ र भविष्यमा खर्च कटौती वा वृद्धि टार्नका लागि आर्थिक सुरक्षा कोष तयार गर्नुपर्छ।

उनले भनिन्,’हामी कर र खर्चका थप उपायहरू हेर्दैछौं, जसले सार्वजनिक वित्तीय सन्तुलन सुनिश्चित गर्छ ।’ उनको यस वक्तव्यलाई बजेटमा कर वृद्धि हुने संकेतका रूपमा हेरिएको छ भने आगामी बजेटमा कर वृद्धिको घोषणा हुने लगभग निश्चित रहेको विश्लेषकहरूको दावी छ ।