प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग

  • प्रकाशित मिति : २०७७ जेष्ठ ५, सोमबार
  • nepaltale.com

कोरोना रोकथाम तथा महामारी नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलका सांसद दिव्यमणिराज भण्डारीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्राथमिकताका साथ काम गर्न नसकेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरेका हुन् ।

सरकारमा रहेका मन्त्रीहरुले समेत प्रधानमन्त्रीलाई सहयोग नगरिरहेको अवस्थामा राजीनामा दिन उनले आग्रह गरे । नीति तथा कार्यक्रममा जनताको ज्यान बचाउने, गासको व्यवस्था गर्ने र विदेशबाट आफ्ना नागरिक ल्याउने केही योजना नदेखिएको उल्लेख गर्दै उनले यो परिस्थितिमा प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र नागरिकलाई स्वदेश भित्र्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउन नसक्ने बताए ।