सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सातवटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको नियमित बैठकका निर्णयबारे सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन्।
बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखका रूपमा राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ।
यससँगै बैठकले भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ।
मन्त्रिपरिषद्का ७ मुख्य निर्णयहरू यसप्रकार छन् :
१. नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने।
२. राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने।
३. भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने।
४. भारतको नयाँ दिल्लीमा हुने नवौं नेपाल–भारत समन्वय बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल संयोजक रहने गरी नेपाली प्रतिनिधिमण्डल स्वीकृत गर्ने।
५. भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने।
६. २०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने।
७. मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।