इल्फोर्ड दुर्घटना: नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा र्‍यापर दोषी

  • प्रकाशित मिति : २०८२ मंसिर २३, मंगलवार
  • नेपाल टेल संवाददाता

लन्डन। अवार्ड विजेता चर्चित ब्रिटिश र्‍यापर गेट्सले उत्तर–पूर्वी लन्डनमा एउटा हिट–एन्ड–रन दुर्घटनामा एक युवकको ज्यान गएको घट्नामा आफू दोषी भएको स्वीकार गरेका छन् ।

ग्राइम कलाकार गेट्सको वास्तविक नाम जस्टिन क्लार्क–स्यामुएल हो। उनले चलाएको बीएमडब्लु कारले २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङलाई गत १८ अक्टोबरमा लन्डनको इल्फोर्डमा ठक्कर दिएको थियो । त्यसपछि उनी घटनास्थलमा मोटर नरोकी फरार भएका थिए ।



प्रहरीका अनुसार उनले ३० माइल प्रतिघण्टा क्षेत्रमा ६० माइल प्रति घण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए र सडक पार गर्दै गरेका तामाङलाई ठक्कर दिएका थिए।

४१ वर्षीय क्लार्क–सामुअलले खतरनाक ड्राइभिङमार्फत मृत्यु गराएको र सोही दिन अर्को खतरनाक ड्राइभिङ गरेको आरोप स्वीकार गरेका छन्। साथै, मदिरा सेवन गरी गाडी चलाएको र खतरनाक ड्राइभिङ सम्बन्धी थप मुद्दा पनि दर्ता गरिएको छ।

ओल्ड बेलीमा सोमबार सुनुवाइ हुंदा युबिनका बुबाआमा विकास तामाङ र शर्मिला मगर तामाङ, उनका परिवार एवं एनआरएनए यूके प्रतिनिधिहरु पनि सहभागी थिए ।

बेलायतस्थित कैयौं नेपाली संघसंस्थाले युबिनको परिवारलाई चन्दा संकलन गरि आर्थिक सहयोग गरिरहेका छन् ।

उनीमाथि हुने सजाय र थप कारबाही आगामी अदालतको सुनुवाइमा तय गरिनेछ।