लन्डन। लन्डनमा तीन सातादेखि बेपत्ता भएका २६ वर्षीय नेपाली विद्यार्थी शंकर साह सुरक्षित अवस्थामा फेला परेका छन्।
लन्डनको बीपीपी युनिभर्सिटीमा म्यानेजमेन्ट विषयमा एमएस्सी अध्ययनरत शंकर मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेकाले हाल लन्डनकै एक अस्पतालमा उपचाररत रहेको उनका दाजु उमेश साहले जानकारी दिएका छन्।
महोत्तरीको जलेश्वर नगरपालिका–११, पिगौना घर भएका शंकर अध्ययनका लागि गत सेप्टेम्बरमा मात्र लन्डन आएका थिए। उनी इष्ट लन्डनमा साथीसँग बस्दै आएका थिए। केही दिनअघि घरबाट बाहिरिएपछि उनी परिवार तथा साथीभाइको सम्पर्कबाट टाढा भएका थिए, जसपछि उनको खोजी सुरु गरिएको थियो।
शंकर सुरक्षित रूपमा फेला परेपछि परिवारले राहत महसुस गरेको छ। उपचार पूरा भएपछि उनी स्वस्थ भई नेपाल फर्किने अपेक्षा परिवारले व्यक्त गरेको छ।