कांग्रेसका १०६ नयाँ अनुहार चुनावी मैदानमा, राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न निर्देशन

नेतृत्व परिवर्तनपछि कांग्रेस प्रवेश गर्नेको लहर

  • प्रकाशित मिति : २०८२ माघ १३, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्र १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको जनाएको छ।

बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए।



उनले भने, ‘जहाँ-जहाँ बागी उम्मेदवारी परेको थियो, पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरै जसो ठाउँमा फिर्ता समेत भइसकेको छ।’

उनका अनुसार कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडा स्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको छ।

निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै चालिसेले पार्टीले आन्तरिक अनुशासन मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहिता समेत जारी गरेको बताए।

उनले थपे, ‘पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउन आन्तरिक आचारसंहिता लागू गरिएको छ। साथै राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम गर्न सबै नेता–कार्यकर्तालाई निर्देशन दिइसकिएको छ।’

कांग्रेसले यसपटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति बनाएको पनि बताए। सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत मतदाता पहुँच विस्तार गर्ने योजना अनुसार प्रचार अभियान अघि बढाइने उनको भनाइ छ।

कांग्रेसले संगठनात्मक एकता, अनुशासन र आधुनिक प्रचार विधिलाई आधार बनाएर निर्वाचनमा जाने रणनीति लिएको समेत बताए। हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्प्रेरणा सिर्जना गरेको दाबी गरे।

उनले भने, ‘महाधिवेशनमा सहभागी नहुनेहरू समेत पार्टी गतिविधिमा जोडिन थालेका छन् अन्य दलका नेता-कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गर्ने क्रम जारी छ।’