प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा हालसम्म करिब १०० निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य ठूला दलहरूलाई पछि पार्दै ऐतिहासिक नतिजा निकालेको छ ।
हालसम्म सार्वजनिक मतपरिणाम अनुसार रास्वपाले हालसम्म सबैभन्दा धेरै ७८ स्थानमा जित हासिल गरिसकेको छ भने ४४ स्थानमा अग्रता कायम राखेको छ ।
त्यस्तै, नेपाली कांग्रेसले ११ सिटमा जित हासिल गर्दा ७ स्थानमा अग्रता कायम गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा एमाले ५ सिटमा जित हासिल गर्दा ७ सिटमा अग्रता कायम गरेको छ ।
माओवादी केन्द्रले ३ सिटमा जित हासिल गर्दा थप ४ सिटमा अग्रता रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक सिटमा जित हासिल गर्दा एकजना स्वन्तन्त्र उम्मेदवारले जित निकालेका छन् ।
प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अन्तरले अग्रता लिइरहेको छ। तथ्याङ्क अनुसार रास्वपाले ५ लाख ८६ हजार ४८६ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ९९ हजार ४४८ र नेकपा एमालेले १ लाख ५१ हजार ६०८ मत प्राप्त गरेका छन्।