काठमाडौँमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोलीले ओमान राष्ट्रिय क्रिकेट टोली माथि ८१ रनको प्रभावशाली जित निकालेको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै समेटियो। यससँगै नेपालले अघिल्लो हारको बदला लिन सफल भयो।
ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए। हमद मिर्जाले ३४ रन जोड्दा हसनैन उल वाहाबले २९ रनको योगदान दिए। तर अन्य ब्याटरले ठूलो स्कोर बनाउन नसक्दा ओमान लक्ष्य नजिक पुग्न सकेन।
नेपालको जितमा गुल्सन झा नायक बने। उनले ९ ओभरमा ५ विकेट लिँदै विपक्षी इनिङ्स ध्वस्त पारे। यस्तै सन्दीप लामिछाने, करन केसी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा २५६ रन बनाएको थियो। सुरुवात राम्रो नभए पनि मध्यक्रमले इनिङ्स सम्हालेको थियो।
आसिफ शेख र अर्जुन कुमालबीचको शतकीय साझेदारी नेपालको इनिङ्सको आधार बन्यो। आसिफ शेख शतकबाट ६ रनले चुके, उनले ९४ रन बनाए। कुमालले ४८ रनको योगदान दिए।
मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ३३ रन जोड्दा आरिफ शेखले २४ बलमा ४३ रनको आक्रामक इनिङ्स खेले। गुल्सन झाले १७ रन बनाए भने कप्तान रोहित पौडेलले ९ रन मात्रै जोड्न सके।
ओमानका लागि नदीम खानले ३ विकेट लिए भने हसन साह र सकिल अहमदले २–२ विकेट लिए।
जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो। यसअघि नेपालले यूएईलाई ३७ रनले हराएको थियो भने ओमानसँग एक खेलमा पराजित भएको थियो। साथै यूएईविरुद्ध अर्को खेलमा डीएलएस विधिबाट ६ रनको जित निकालेको थियो।