चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को महामारी विश्वका २१३ देशमा फैलिएको छ। पछिल्लो २४ घण्टामा ब्राजिलमा विश्वकै सबैभन्दा धेरैको मृत्यु भएको छ। सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा पनि पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ भने ब्राजिलमा अमेरिकासहित सबै देशभन्दा बढीको मृत्यु भएको छ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा ७०३ जनाको मृत्यु भएको छ भने १६ हजार २ सय २० जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ हजार ७ सय १६ पुगेको छ भने ३ लाख ६३ हजार ६ सय १८ जना संक्रमित भएका छन्।
पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या केही हप्ता यताकै न्यून छ। पछिल्लो २४ घण्टामा अमेरिकामा ६ सय १७ जनाको मृत्यु भएको छ भने १९ हजार ६ सय ८ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ हजार ३ सय पुगेको छ भने १६ लाख ८६ हजार ४ सय ३६ जना संक्रमित भएका छन्।