विश्वकपमा आज निर्णायक खेलहरू: समूह ‘ई’, ‘एफ’ र ‘डी’ मा नकआउट दौड तीव्र

  • प्रकाशित मिति : २०८३ असार ११, बिहीबार
  • नेपाल टेल संवाददाता

फिफा विश्वकप फुटबलमा आज राति तथा भोलि बिहान समूह चरणका महत्वपूर्ण खेलहरू हुँदैछन्, जसले नकआउट चरणमा पुग्ने बाँकी टोलीहरूको टुंगो लगाउनेछ।

समूह ‘ई’ मा दुई खेल, उपविजेता टुंग्याउने दौड



आज राति पौने २ बजे समूह ‘ई’ का दुई खेल हुनेछन्। अमेरिकाको फिलाडेल्फियास्थित रंगशालामा क्युरासाओ र आइभरी कोस्ट आमनेसामने हुनेछन्। त्यस्तै, न्युयोर्क–न्यु जर्सी रंगशालामा इक्वेडर र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ। चार पटकको विश्वकप विजेता जर्मनी लगातार दोस्रो जितसहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। अब समूहको दोस्रो स्थानका लागि आइभरी कोस्ट, इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको क्युरासाओबीच प्रतिस्पर्धा हुनेछ। हाल आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ भने इक्वेडर र क्युरासाओ समान १–१ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

समूह ‘एफ’ मा बाँकी स्थानका लागि संघर्ष

भोलि बिहान पौने ५ बजे समूह ‘एफ’ का दुई खेल हुनेछन्। कन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्यान्ड्स भिड्नेछन् भने डालास रंगशालामा जापान र स्वीडेन आमनेसामने हुनेछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा पुग्ने प्रतिस्पर्धामा छन्, जसले अन्तिम दुई स्थानका लागि रोमाञ्चक अवस्था बनाएको छ।

समूह ‘डी’ मा पनि अन्तिम निर्णय नजिक

भोलि बिहान पौने ८ बजे समूह ‘डी’ का दुई खेल हुँदैछन्। लस एन्जलसमा घरेलु टोली अमेरिका र टर्किए भिड्नेछन् भने सान फ्रान्सिस्को बे एरियामा पाराग्वे र अस्ट्रेलिया खेल्नेछन्। यो समूहमा अमेरिका नकआउट चरणमा पुगिसकेको छ भने टर्किए बाहिरिएको छ। अब दोस्रो स्थानका लागि अस्ट्रेलिया र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ।

तीन समूहमा आज र भोलि हुने खेलहरूले नकआउट चरणको अन्तिम चित्र लगभग स्पष्ट गर्नेछन्। विशेषगरी समूह ‘ई’ र ‘एफ’ मा अझै पनि तीन–तीन टोलीको सम्भावना जीवित रहँदा प्रतिस्पर्धा अत्यन्तै रोचक बनेको छ।