नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल अन्तिम १६ बाटै बाहिरियो, हालान्ड बने नायक

  • प्रकाशित मिति : २०८३ असार २२, सोमबार
  • नेपाल टेल संवाददाता

विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत आइतबार राति भएको रोमाञ्चक प्रतिस्पर्धामा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

न्युयोर्क/न्यु जर्सी स्टेडियममा भएको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन्। ब्राजिलले पेनाल्टीको अवसर पाए पनि ब्रुनो गिमारेसको प्रहार नर्वेका गोलरक्षक ओर्यान न्यालान्डले उत्कृष्ट बचाउ गरे ।



खेलको ७९औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डको संयोजनमा आएको क्रसलाई स्टार स्ट्राइकर एर्लिङ हालान्डले शक्तिशाली हेडमार्फत गोलमा परिणत गर्दै नर्वेलाई अग्रता दिलाए। त्यसको 11 मिनेटमै हालान्डले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

९० मिनेटपछि थपिएको अतिरिक्त समयको अन्त्यतिर ब्राजिलले पाएको पेनाल्टीलाई नेम्यारले गोलमा परिणत गर्दै खेल २-१ बनाए पनि नर्वेको सुदृढ रक्षापंक्तिले सबै आक्रमण विफल पार्यो।

यस जितसँगै नर्वे विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने उपाधिको दाबेदार मानिएको ब्राजिलको यात्रा अन्तिम १६ मै टुंगिएको छ।