बालोगनको प्रतिबन्ध हटेपछि ट्रम्पले फिफालाई दिए धन्यवाद, बेल्जियम आक्रोशित

  • प्रकाशित मिति : २०८३ असार २२, सोमबार
  • नेपाल टेल संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका स्टार फरवार्ड फोलारिन बालोगन माथिको एक खेलको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयको स्वागत गरेका छन्।

यस निर्णयसँगै बालोगन सोमबार बेल्जियमविरुद्ध हुने फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेल खेल्न पाउने भएका छन्।



२५ वर्षीय बालोगनले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध अन्तिम ३२ को खेलमा विपक्षी खेलाडी तारिक मुहरेमोभिचको दाहिने खुट्टाको एङ्कलमा टेकेको भन्दै ६४औँ मिनेटमा रातो कार्ड पाएका थिए।

अमेरिकाले उक्त खेल २–० ले जिते पनि रातो कार्डका कारण उनीमाथि स्वतः एक खेलको प्रतिबन्ध लागेको थियो।

तर आइतबार फिफाले अनुशासन संहिताको धारा २७ प्रयोग गर्दै उक्त प्रतिबन्ध एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरेको घोषणा गर्‍यो।

यदि यो अवधिमा बालोगनले उस्तै प्रकृतिको अर्को अनुशासन उल्लङ्घन गरे प्रतिबन्ध स्वतः लागू हुने फिफाले जनाएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले खेलपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरी रातो कार्डको घटनाको पुनरावलोकन गर्न आग्रह गरेका थिए। यद्यपि यसबारे आधिकारिक पुष्टि गरिएको छैन।

निर्णय सार्वजनिक भएपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखे, ‘सही निर्णय गरेर ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद।’

यता बेल्जियम फुटबल सङ्घले भने फिफाको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ। सङ्घले आफूहरू ‘आश्चर्यचकित’भएको बताउँदै प्रतियोगिताको निष्पक्षता र नैतिकताको रक्षा गर्न सबै कानुनी विकल्पबारे अध्ययन गरिरहेको जनाएको छ।

बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले पनि फिफाको निर्णयको व्यंग्यात्मक आलोचना गरे।

उनले भने, ‘मलाई त फिफाको कार्यालयमा जुलाई ५ होइन, अप्रिल १ (अप्रिल फूल)पो भएको रहेछ भन्ने लाग्यो। विश्वकप इतिहासमै यस्तो निर्णय पहिलो पटक भएको हुनुपर्छ।’

अमेरिकी टोलीका कप्तान क्रिस्टियन पुलिसिचले भने बालोगनको रातो कार्ड अत्यधिक कठोर निर्णय भएको बताएका छन्।

उनले भने, ‘त्यो फाउलमा कुनै खराब नियत थिएन। यो प्रतियोगितामा त्यसभन्दा गम्भीर फाउलहरू पनि भएका थिए। त्यसैले पहेंलो कार्ड पर्याप्त हुने थियो।’

फिफाले आइतबार बिहान अमेरिकी फुटबल महासङ्घलाई आधिकारिक पोर्टलमार्फत आफ्नो निर्णय पठाएको थियो।

यस विश्वकपमा तीन गोल गरिसकेका बालोगनले बोस्नियाविरुद्ध निर्णायक गोल पनि गरेका थिए। उनले सन् २०१० को विश्वकपमा ल्यान्डन डोनोभानले बनाएको तीन गोलको अमेरिकी कीर्तिमान बराबरी गरेका छन्।

अमेरिकाका लागि विश्वकपमा सबैभन्दा धेरै चार गोल गर्ने कीर्तिमान भने बर्ट प्याटेनोडको नाममा छ।

फ्रान्सेली क्लब मोनाकोबाट व्यावसायिक फुटबल खेल्ने बालोगनले गत सिजन फ्रान्सेली लिगमा १३ गोल गरेका थिए। अमेरिकी टोलीका लागि उनले ३० खेलमा १२ गोल गरिसकेका छन्।

ब्रुकलिनमा नाइजेरियाली अभिभावकबाट जन्मिएका बालोगनले इङ्ग्ल्यान्डको उमेर समूह टोलीबाट खेलेपछि सन् २०२३ मा राष्ट्रिय टोली परिवर्तन गर्दै अमेरिकाको प्रतिनिधित्व गर्ने निर्णय गरेका थिए।

अमेरिका अहिले सन् २००२ पछि पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुग्ने लक्ष्यमा छ। अमेरिकाले त्यसयता २०१० मा घाना, २०१४ मा बेल्जियम र २०२२ मा नेदरल्यान्ड्ससँग अन्तिम १६ मा हार बेहोरेको थियो भने २००६ मा समूह चरणबाटै बाहिरिएको थियो। २०१८ को विश्वकपमा भने अमेरिका छनोट हुन सकेको थिएन।

फिफाले यसअघि पनि अनुशासन संहिताको यही व्यवस्था प्रयोग गर्दै विश्वकपअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका निकोलस ओटामेन्डी र इक्वेडरका मोइसेस काइसेडो माथिका प्रतिबन्ध आंशिक रूपमा स्थगित गरिसकेको थियो।

साथै, सन् १९६२ को विश्वकपमा ब्राजिलका गरिन्चालाई सेमिफाइनलमा रातो कार्ड देखाइए पनि राजनीतिक दबाबपछि फाइनल खेल्न दिइएको इतिहास पनि छ।