विश्वकपमा इंग्ल्यान्डविरूद्ध म्याराडोनाले यसरी गरेका थिए शताब्दीकै उत्कृष्ट गोल

  • प्रकाशित मिति : २०८३ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनल समिकरण पूरा भएको छ। सेमिफाइनलमा फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुँदा अर्को खेलमा अर्जेन्टिना र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

इंग्ल्यान्ड र अर्जेन्टिनाबीच विश्वकपको खेल हुँदा सधैँ सन् १९८६ को विश्वकपको सम्झना गरिन्छ।



सो विश्वकपको क्वार्टरफाइनलमा अर्जेन्टिनाले २-१ गोलको जित दर्ता गर्दा दुवै गोल विश्वविख्यात फुटबल खेलाडी डिएगो म्याराडोनाले गरेका थिए।

पहिलो गोल हातले गरेका कारण विवादित बनेको थियो भने दोस्रो गोल यति उत्कृष्ट थियो कि पछि शताब्दीकै उत्कृष्ट गोल ठहरिएको थियो।

म्याराडोनाको सन् २०२० मा ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो।

म्याराडोनाको नाम संसारकै सर्वकालीन महान् फुटबल खेलाडीहरूको सूचीमा आउँछ। अर्जेन्टिनाले उनकै नेतृत्वमा सन् १९८६ को विश्वकप जितेको थियो।

धेरैले उनलाई त्यही विश्वकपमा देखाएको अद्भूत प्रदर्शन निम्ति सम्झना गर्छन्। त्यहि विश्वकपमा उनले इंग्ल्यान्डविरुद्ध गरेको दोस्रो गोल शताब्दीकै उत्कृष्ट गोल घोषित गरियो।

उक्त गोलको कथा म्याराडोनाले आफ्नो आत्मबृतान्तमा लेखेका छन्। म्याराडोनाको आफ्नो आत्मबृतान्त ‘म डिएगो हुँ’ मा शताब्दीको उत्कृष्ट गोलको विषयमा लेखेका कुरा यस्तो छ :-

२३ जुन १९८६ को दिन थियो। जुन दिन मैले (डिएगो म्याराडोना) अर्जेन्टिनाका लागि इंग्ल्यान्डविरुद्ध यादगार दोस्रो गोल गरेको थिएँ। जुन पछि शताब्दीकै उत्कृष्ट गोलमा दरिन पुग्यो।

मैले दोस्रो गोल भाईले भने जस्तै गरी गरें। १३ मे १९८१ मा मैले यस्तै तरिकाले गोल गरिसकेको थिएँ। त्यतिबेला मेरो भाइ टुको मसँग खुब रिसाएको थियो।

भन्थ्यो, ‘तिमी काम नलाग्ने मान्छे हौं। गोलकिपरलाई आफ्नो नजिक आउन दिने प्रयत्न पनि गरेनौं। तिमीले यो गोललाई अझ रोचक बनाउन सक्थ्यौ।’

त्यति भनेर ऊ मसँग फनक्क फन्कियो। म चकित परेँ।

उसलाई गाली गर्न थालें, ‘तँ घटिया मान्छे। त्यत्तिकै मलाई गाली गर्छस्। टेलिभिजन हेरेपछि थाहा पाउँछस्, मैले कस्तो गोल गरें भनेर।’

तर, टेलिभिजन हेरेपछि भाईको सोचबाट म आफैँ प्रभावित भएँ। त्यतिबेला ऊ ७ वर्षको मात्र थियो।

उसले उल्टै मलाई सम्झायो, ‘होइन फ्लु (म्याराडोनालाई भाइले सम्बोधन गर्ने नाम) यदि तिमीले गोलकिपरलाई आफू नजिकै आउन दिएको भए, पोल र तिमीबीचको ग्याप छोटो हुने थियो। यस्तो बेला गरेको गोल दर्शनीय हुने गर्छ। यस्तो स्थितिमा तिमीले जहिले पनि देब्रे खुट्टाले गोल गर्नु।’

मैले सन् १९८६ को विश्वकप अन्तर्गत क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध दोस्रो गोल त्यसरी नै गरें। जसरी मेरो भाइले मलाई गोल गर्न सुझाव दिएको थियो।

मैदानको मध्य भागभन्दा अगाडि मिडफिल्डर हेक्टर एनरिकले बल मलाई उपलब्ध गराउँदा इंग्ल्यान्डका दुई डिफेन्डर बल खोस्न म नजिक आएका थिए। तर, उनीहरुलाई राम्रो डच दिँदै बललाई इंग्लिस गोल पोस्टतर्फ अगाडि बढाउन सफल भए।

बीचमा मलाई फेरि रोक्ने प्रयास भएको थियो। तर, यतिबेला पनि मैले बलमा नियन्त्रण बनाइरहेँ।

इंग्ल्यान्डको डिबक्सभित्र बल छिराउन क्रममा पुनः मलाई रोक्ने प्रयास भयो। यतिबेला मलाई तान्न पनि खोजिएको थियो। तर, म उम्किन सफल भए।

डिबक्सभित्र इंग्लिस गोलकिपर पिटर सेल्टनको अगाडि पुग्दा दुई जना डिफेन्डरले फेरि ट्याकल गर्न खोजेका थिए। सेल्टन पनि अगाडि आउँदै थिए। सुरुमा मैले उनलाई नजिकै आउन दिएँ। तर, छेउमा आएपछि नराम्रो डच दिए। र देब्रे खुट्टाले गोल गरे।