विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट पक्का भएसँगै मैदानबाहिरको वातावरण गर्माएको छ । अतिरिक्त समयमा इंग्ल्यान्डले नर्वेलाई २–१ र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पाखा लगाउँदै बुधबार राति हुने सेमिफाइनलमा एकअर्कासँगको भेट पक्का गरेका हुन् ।
खेलको सरगर्मी बढिरहेका बेला अर्जेन्टिनी खेलाडीले ड्रेसिङरुममा बेलायतविरोधी पुराना राजनीतिक र युद्धसँग जोडिएका गीत गाउँदै इंग्ल्यान्डलाई खुला चुनौती दिएका छन् ।
क्वार्टरफाइनलको जितपछि ड्रेसिङरुममा खुसीयाली मनाउने क्रममा कप्तान लियोनेल मेस्सीसहितका खेलाडीले ‘फकल्यान्ड टापुका लागि इंग्ल्यान्डलाई हराउने’ भन्दै चर्को नाराबाजी गरेका हुन्। अर्जेन्टिनी खेलाडीले नाच्दै गाएको भिडियोमा भनिएको छ, “मालभिनासका लागि, डिएगो (म्याराडोना) का लागि र लियो (मेसी) को अन्तिम विश्वकपका लागि हामी जित्नेछौँ ।”
अर्जेन्टिनाले ‘मालभिनास’ भन्ने गरेको फकल्यान्ड टापुलाई लिएर सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच भीषण युद्ध भएको थियो । उक्त युद्धमा टापु फिर्ता लिने प्रयास गर्दा ६४९ अर्जेन्टिनी सैनिकले ज्यान गुमाएका थिए । अर्जेन्टिनामा यो विषय अझै पनि निकै संवेदनशील र भावनात्मक मानिन्छ ।
यो विश्वकपमा अर्जेन्टिनी टोलीले बेलायतलाई लक्षित गरी यस्तो गीत गाएको यो पहिलो पटक भने होइन । यसअघि इजिप्टविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्दा पनि उनीहरूले ड्रेसिङरुममा फकल्यान्ड टापुकै प्रसंग निकालेर इंग्ल्यान्डलाई गिज्याएका थिए । सेमिफाइनलको दबाब बढ्दै जाँदा मेसीर उनका सहकर्मीले समर्थकसँग मिलेर दशकौँ पुरानो बेलायतविरोधी नारालाई पुनः ब्युँताएका छन्, जसले बुधबारको खेललाई थप तनावपूर्ण र रोमाञ्चक बनाउने निश्चित छ ।