‘ह्यान्ड अफ गड’देखि बेकह्यामको रातो कार्डसम्मः २१ वर्षपछि फेरि अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने

  • प्रकाशित मिति : २०८३ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

करिब दुई शताब्दीदेखिको जटिल र रक्तपातपूर्ण इतिहास, छ दशकभन्दा लामो समयदेखि मैदानमा चलिरहेको तीव्र प्रतिद्वन्द्विता, अनि नाटक, विवाद र जादुमयी क्षणहरूले भरिएको प्रतिस्पर्धा।

बुधबार अमेरिकाको एटलान्टामा हुने अर्जेन्टिना र इंग्ल्यान्डबीचको सेमिफाइनल खेलको महत्वलाई शब्दमा व्यक्त गर्न गाह्रो छ। विश्व फुटबलका यी दुई स्थायी महाशक्तिबीच २१ वर्षयता पहिलो पटक कुनै पनि प्रकारको खेल हुन लागेको हो।



सन् २००५ मा जेनेभामा भएको पछिल्लो भेटमा १८ वर्षीय लियोनल मेसी निलम्बनका कारण खेल्न पाएका थिएनन्। त्यस मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले २–१ ले पछि परेको अवस्था उल्टाउँदै अन्तिम समयमा ३–२ को जित निकालेको थियो।

यसपटक भने सबैको नजर विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता मेसीमाथि हुनेछ, जो साविक विजेता अर्जेन्टिनालाई फेरि फाइनलमा पुर्‍याउने लक्ष्यमा छन्।

फुटबलमार्फत जोडिएको गहिरो सम्बन्ध

यी दुई राष्ट्रबीचको फुटबल सम्बन्ध निकै पुरानो छ। अर्जेन्टिनामा पहिलो आधिकारिक फुटबल खेल सन् १८६७ मा बेलायती रेल कर्मचारीहरूले खेलेका थिए।

न्युवेल्स ओल्ड ब्वाइज र रोसारियो सेन्ट्रलजस्ता प्रसिद्ध क्लबहरू बेलायती आप्रवासीहरूले स्थापना गरेका थिए भने रिभर प्लेट र बोका जुनियर्स जस्ता क्लबका नाममा पनि अंग्रेजी भाषाको प्रभाव देखिन्छ।

अर्जेन्टिना स्कटल्यान्डपछि वेम्ब्ली स्टेडियममा इंग्ल्यान्डसँग पूर्ण अन्तर्राष्ट्रिय खेल खेल्ने दोस्रो राष्ट्र थियो। सन् १९५१ मा भएको उक्त खेलमा इंग्ल्यान्ड २–१ ले विजयी भएको थियो।

तर सुरुआती मैत्रीपूर्ण सम्बन्ध पछि कटु प्रतिस्पर्धामा बदलियो। अहिले पनि अर्जेन्टिनी समर्थकहरूले विश्वकपभरि रंगशालामा इंग्ल्यान्डविरुद्ध गीत गाइरहेका छन्।

तर यो सबै कहाँबाट सुरु भयो ? आउनुहोस्, अर्जेन्टिना–इंग्ल्यान्ड प्रतिद्वन्द्विताका सबैभन्दा ऐतिहासिक क्षणहरू सम्झौँ।

१९६६ – इंग्ल्यान्ड १–० अर्जेन्टिना

यी दुई टोलीको पहिलो विश्वकप भेट सन् १९६६ मा भएको थिएन। त्योभन्दा चार वर्षअघि, सन् १९६२ मा चिली विश्वकपको समूह चरणमा रान्कागुआमा उनीहरूबीच खेल भएको थियो।

त्यस खेलमा इंग्ल्यान्ड ३–१ ले विजयी भएको थियो। त्यो जित महत्वपूर्ण साबित भयो, किनभने गोलअन्तरका आधारमा इंग्ल्यान्ड क्वाटरफाइनल पुगेको थियो भने अर्जेन्टिना बाहिरिएको थियो। तर क्वाटरफाइनलमा इंग्ल्यान्ड अन्ततः ब्राजिलसँग ३–१ ले पराजित भएको थियो।

सन् १९६२ को खेलमा खास विवाद भएन। तर चार वर्षपछि वेम्ब्लीमा भएको क्वाटरफाइनल भने इतिहासकै सबैभन्दा विवादास्पद खेलमध्ये एक बन्यो।

इंग्ल्यान्ड १–० ले विजयी भयो। अर्जेन्टिनामा त्यस खेललाई ‘एल रोबो डेल सिग्लो’ (शताब्दीको डकैती) भनेर चिनियो। दक्षिण अमेरिकी समर्थकहरूले प्रतियोगिता आफ्ना टोलीविरुद्ध षड्यन्त्रपूर्वक मिलाइएको दाबी गरे।

जर्मन रेफ्री रुडोल्फ क्राइटलाइनले लगातार भएका फाउलका कारण निकै कठिन खेल सञ्चालन गर्नुपरेको थियो। अर्जेन्टिनाले खेलको गति सुस्त बनाउँदै इंग्ल्यान्डको लय बिगारेको थियो।

खेलको झन्डै आधा घण्टा पुग्नै लाग्दा अर्जेन्टिनी कप्तान एन्टोनियो राट्टिनले इंग्ल्यान्डका कप्तान बोबी चार्ल्टनमाथि फाउल गरेपछि चेतावनी पाए।

त्यसको तीन मिनेटभित्रै आफ्ना टोलीका अर्का खेलाडीलाई चेतावनी दिइएको विषयमा विरोध गरेपछि उनी फेरि कारबाहीमा परे।

अर्जेन्टिनाको दाबीअनुसार भाषाको समस्याका कारण गलत बुझाइ भएको थियो। राट्टिनले मैदान छाड्न अस्वीकार गर्दै अनुवादक मागेका थिए।

त्यसका कारण खेल आठ मिनेट रोकियो। टचलाइनमा फिफाका रेफ्री संयोजक केन एस्टनसहित छलफल भयो। पछि यही घटनाबाट प्रेरित भएर उनले सन् १९७० विश्वकपदेखि पहेंलो र रातो कार्डको प्रणाली सुरु गरेका थिए।

राट्टिनलाई प्रहरीले मैदानबाहिर लग्यो। बाहिरिने क्रममा उनले युनाइटेड किङ्डमको झण्डा बेरिएको कुनाको झण्डा च्यातिदिए र महारानी एलिजाबेथका लागि बिछ्याइएको रातो कार्पेटमा बसे। यसले घरेलु समर्थक झन् आक्रोशित बने।

८९ वर्षको उमेरमा राट्टिनको निधन भएको घोषणा गत शनिबार भएको थियो। स्विट्जरल्यान्डविरुद्धको क्वाटरफाइनलअघि अर्जेन्टिनी खेलाडीहरूले उनको सम्मानमा कालो पट्टी बाँधेका थिए।

इंग्ल्यान्ड पनि निर्दोष थिएन। खेलमा इंग्ल्यान्डले ३० वटा फाउल गरेको थियो।

जियोफ हर्स्टले अर्जेन्टिनाका राइट ब्याक रोबर्टो फेरेइरोमाथि गरेको खतरनाक ट्याकलमा कुनै कारबाही भएन। पछि हर्स्टले मार्टिन पिटर्सको क्रसमा हेडमार्फत खेलको एकमात्र गोल गरे। अर्जेन्टिनाले उक्त गोल अफसाइड भएको दाबी गर्‍यो।

खेलपछि फेरेइरोले रेफ्रीमाथि आक्रमण गरे। रेफ्रीलाई प्रहरीको सुरक्षामा मैदान छाड्नुपरेको थियो। रेफ्रीको सर्ट च्यातेको आरोपमा फेरेइरो तीन खेलका लागि प्रतिबन्धित भए भने एर्मिन्डो ओनेगाले फिफाका उपाध्यक्ष ह्यारी काभानमाथि थुकेको आरोपमा समान प्रतिबन्ध पाए।

इंग्ल्यान्डका प्रशिक्षक अल्फ राम्से खेलपछि आफ्ना खेलाडीलाई अर्जेन्टिनाका खेलाडीसँग जर्सी साट्न नदिँदै मैदानमा पुगेका थिए। त्यसपछि पत्रकार सम्मेलनमा उनले अर्जेन्टिनी खेलाडीलाई ‘जनावर’ भनेका थिए।

१९८६ – इंग्ल्यान्ड १–२ अर्जेन्टिना

१९७४ र १९७७ मा दुई मैत्रीपूर्ण खेल बराबरीमा सकिए। त्यसपछि १९८० मा वेम्ब्लीमा इंग्ल्यान्डले ३–१ को जित निकाल्दा डिएगो म्याराडोनाले पहिलो पटक इंग्ल्यान्डविरुद्ध खेले।

दोस्रो भेट १९८६ को विश्वकप क्वाटरफाइनलमा मेक्सिको सिटीको अज्टेका रंगशालामा भयो।

यो खेल फकल्यान्ड (अर्जेन्टिनामा माल्भिनास) युद्धको चार वर्षपछि भएको थियो। अर्जेन्टिनाले दक्षिण अटलान्टिकमा रहेको ब्रिटिस क्षेत्र कब्जा गरेपछि ७४ दिनसम्म युद्ध चलेको थियो, जसमा दुवै पक्षका ९०० भन्दा बढी मानिस मारिएका थिए।

अर्जेन्टिनाले त्यसको बदला मैदानमै लिने अवसर पायो।

दोस्रो हाफको छैटौँ मिनेटमा म्याराडोनाले हावामा आएको बललाई हातले छोएर गोल गरे। इंग्ल्यान्डले विरोध गरे पनि गोल मान्यता पायो।

पछि म्याराडोनाले यसलाई ‘ह्यान्ड अफ गड’ भने।

चार मिनेटपछि उनले आफ्नै मैदानतर्फको हाफबाट बल अघि बढाउँदै ११ सेकेन्डमा ११ पटक बल छोए, पाँच खेलाडीलाई छलाए, गोलकिपर पिटर शिल्टनलाई पनि पार गर्दै गोल गरे। त्यो गोललाई आजसम्म ‘गोल अफ द सेन्चुरी’ भनिन्छ।

अन्त्यतिर ग्यारी लाइनेकरले इंग्ल्यान्डका लागि गोल फर्काए पनि अर्जेन्टिना २–१ ले विजयी हुँदै अन्ततः दोस्रो पटक विश्व च्याम्पियन बन्यो।

१९९८ – इंग्ल्यान्ड २–२ अर्जेन्टिना (पेनाल्टीमा अर्जेन्टिना ४–३ ले विजयी)

सन् १९९१ मा अर्जेन्टिना ११ वर्षपछि पहिलो पटक इंग्ल्यान्ड भ्रमणमा गएको थियो। वेम्ब्लीमा भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड २–० ले अगाडि रहेको अवस्थामा अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल फर्काउँदै खेल बराबरी गरेको थियो।

यी दुई टोलीको अर्को प्रतिस्पर्धात्मक भेट सन् १९९८ को फ्रान्स विश्वकपको अन्तिम १६ मा सेन्ट–एटिएनमा भयो। त्यो खेल अत्यन्तै रोमाञ्चक र तनावपूर्ण रह्यो।

खेलको सातौँ मिनेटमै गाब्रिएल बाटिस्टुटाले पेनाल्टीमार्फत अर्जेन्टिनालाई अग्रता दिलाए। तर त्यसको चार मिनेटपछि किशोर खेलाडी माइकल ओवेनले पेनाल्टी जिते, जसलाई एलन शियररले गोलमा परिणत गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याए।

१७औँ मिनेटमा ओवेनले मध्यरेखाबाट सुरु गरेको शानदार व्यक्तिगत प्रहारमार्फत गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए। यो गोल विश्वकप इतिहासकै उत्कृष्ट गोलहरूमध्ये एक मानिन्छ।

तर पहिलो हाफको अन्तिम समयमा अर्जेन्टिनाले चतुर फ्री–किकमार्फत बराबरी गोल फर्कायो। हाभियर जानेट्टीले उत्कृष्ट संयोजनपछि गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।

दोस्रो हाफ सुरु भएको केहीबेरमै खेलको सबैभन्दा विवादास्पद घटना भयो।

इंग्ल्यान्डका डेभिड बेकह्यामलाई मध्यभागमा अर्जेन्टिनाका डिएगो सिमियोनेले लडाए। बेकह्याम मैदानमा अनुहार तल पारेर लडिरहेका बेला सिमियोनेले उनको टाउकोमा हल्का छोए।

त्यसको प्रतिक्रियामा बेकह्यामले सिमियोनेको खुट्टामा हल्का लात हाने। सिमियोने मैदानमा लडे र डेनमार्कका रेफ्री किम मिल्टन–निल्सेनले बेकह्यामलाई रातो कार्ड देखाए।

त्यसपछि बेलायती सञ्चारमाध्यमले बेकह्यामको कडा आलोचना गरेका थिए।

१० खेलाडीमा सीमित भएपछि पनि इंग्ल्यान्डले उत्कृष्ट संघर्ष गर्‍यो। खेलको अन्तिम समयमा सोल क्याम्पबेलले हेडमार्फत गोल गरेका थिए। तर गोलकिपर कार्लोस रोआमाथि एलन शियररले फाउल गरेको भन्दै उक्त गोल अमान्य घोषित गरियो।

खेल अतिरिक्त समयमा पनि बराबरी भएपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४–३ ले विजयी भयो।

अर्जेन्टिनाका गोलकिपर रोआले पल इन्स र डेभिड ब्याटीको पेनाल्टी बचाउँदै टोलीलाई क्वाटरफाइनल पुर्‍याएका थिए।

२००२ – अर्जेन्टिना ०–१ इंग्ल्यान्ड

सन् २००० मा वेम्ब्लीमा भएको अर्को मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।

त्यसपछि सन् २००२ को जापान–दक्षिण कोरिया विश्वकपमा यी दुई टोली फेरि आमनेसामने भए।

साप्पोरोमा भएको समूह चरणको यो खेल दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण थियो। इंग्ल्यान्डले पहिलो खेल स्विडेनसँग बराबरी खेलेको थियो र नकआउट चरण पुग्न जित आवश्यक थियो।

पहिलो हाफ सकिनुअघि माइकल ओवेनलाई अर्जेन्टिनाका माउरिसियो पोचेटिनोले पेनाल्टी क्षेत्रमा लडाए।

प्राप्त पेनाल्टीमा डेभिड बेकह्यामले कुनै गल्ती नगरी बललाई गोलपोस्टको बीचबाट जाली चुमाउँदै इंग्ल्यान्डलाई अग्रता दिलाए।

यसपटक सिमियोने र बेकह्याम दुवैले पूरा ९० मिनेट खेले। खेलकै क्रममा उनीहरूले एकअर्कासँग हात पनि मिलाएका थिए, जसले चार वर्षअघिको विवादलाई केही हदसम्म अन्त्य गरेको संकेत दिएको थियो।

अन्तिम समयमा अर्जेन्टिनाले लगातार दबाब सिर्जना गरे पनि इंग्ल्यान्डको डिफेन्सले उत्कृष्ट प्रदर्शन गर्दै १–० को जित सुरक्षित गर्‍यो।

यो जितसँगै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गर्‍यो।

अर्कोतर्फ अर्जेन्टिना समूह चरणबाटै बाहिरियो। सन् १९६२ पछि पहिलो र अहिलेसम्मकै एकमात्र पटक अर्जेन्टिना विश्वकपको समूह चरणबाट बाहिरिएको थियो।

त्यही सन् १९६२ बाट विश्वकपमा अर्जेन्टिना र इंग्ल्यान्डबीचको ऐतिहासिक प्रतिस्पर्धा सुरु भएको मानिन्छ।

२१ वर्षपछि फेरि ऐतिहासिक भिडन्त

अब २१ वर्षपछि विश्व फुटबलका यी दुई पुराना प्रतिद्वन्द्वी फेरि विश्वकपको सेमिफाइनलमा भिड्दैछन्।

एकातिर लियोनल मेसीको नेतृत्वमा साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ भने अर्कोतर्फ इंग्ल्यान्ड १९६६ यता पहिलो पटक विश्वकपको उपाधि जित्ने सपना पूरा गर्न प्रयासरत छ।

दोस्रो सेमिफाइनल अन्तर्गत इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको खेल नेपाली समयानुसार बुधबार राती १२ः४५ बजे सुरु हुनेछ।

अर्जेन्टिनाले नकआउट चरण अन्तर्गत राउन्ड अफ ३२ मा पहिलोपट विश्वकप खेलेको केप भर्डलाई अतिरिक्त समयमा ३–२ ले हराउँदै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको थियो।

यस्तै, अन्तिम १६ मा इजिप्टलाई ३–२ ले तथा क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।

अर्कोतर्फ इंग्ल्यान्डले राउन्ड अफ ३२ मा डीआर कंगोलाई २–१, अन्तिम १६ मा मेक्सिकोलाई ३–२ तथा क्वाटरफाइनलमा नर्वेलाई २–१ गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। दुवै टीम उच्च लयमा रहेका छन् जसकारण यी दुईबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने देखिन्छ।