विश्वकप फाइनलमा विश्वको नजर, अर्जेन्टिना र स्पेन उपाधिका लागि आमनेसामने

  • प्रकाशित मिति : २०८३ श्रावण ४, सोमबार
  • नेपाल टेल संवाददाता

विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च सजिएको छ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आज हुने फिफा विश्वकप २०२६ को फाइनलमा साबिक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुँदैछन्।

यो केवल दुई टोलीबीचको प्रतिस्पर्धा मात्र होइन, दुई फरक फुटबल दर्शनबीचको भिडन्त पनि हो। एकातिर कठिन परिस्थितिलाई जितमा बदल्ने क्षमता भएको अर्जेन्टिना छ भने अर्कोतिर बल नियन्त्रण र सामूहिक खेलबाट विपक्षीलाई दबाबमा राख्ने स्पेन।



यस फाइनलको सबैभन्दा ठूलो आकर्षण लियोनल मेसी र लामिन यामलको प्रतिस्पर्धा हुनेछ। ३९ वर्षीय मेसी आफ्नो सम्भावित अन्तिम विश्वकप खेल्दै लगातार दोस्रो उपाधिको खोजीमा छन् भने किशोर स्टार यामल स्पेनलाई १६ वर्षपछि फेरि विश्व च्याम्पियन बनाउने अभियानमा छन्।

दुवै टोली फाइनलसम्म कसरी पुगे ?

स्पेनले समूह ‘एच’मा साउदी अरेबिया र उरुग्वेलाई हराउँदै तथा केप भर्डसँग बराबरी खेल्दै सात अंकका साथ शीर्ष स्थान हासिल गरेको थियो।

नकआउट चरणमा स्पेनले अन्तिम ३२ मा अस्ट्रियालाई ३–० ले पराजित गर्‍यो। त्यसपछि अन्तिम १६ मा पोर्चुगललाई १–० ले हरायो।

क्वाटरफाइनलमा बेल्जियममाथि २–१ को जित निकालेको स्पेनले सेमिफाइनलमा उपाधिको दाबेदार फ्रान्सलाई २–० ले स्तब्ध पार्दै फाइनल यात्रा तय गर्‍यो।

अर्जेन्टिनाले भने समूह ‘जे’मा अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई हराउँदै शीर्ष स्थान कब्जा गरेको थियो।

अन्तिम ३२ मा अतिरिक्त समयमा केप भर्डलाई ३–२ ले हराएको अर्जेन्टिनाले अन्तिम १६ मा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गर्‍यो।

क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराएको अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध अन्तिम समयमा पुनरागमन गर्दै २–१ को रोमाञ्चक जित निकालेको थियो।

३९ वर्षीय लियोनेल मेसी आज विश्वकप फाइनल खेल्ने सबैभन्दा पाका फिल्ड खेलाडी बन्ने कीर्तिमान पनि बनाउनेछन्।

उनले भविष्यबारे औपचारिक घोषणा नगरे पनि धेरैको विश्वास छ, यो नै उनको अन्तिम विश्वकप हुनेछ। यदि अर्जेन्टिनाले उपाधि जित्यो भने मेसीले लगातार दुई विश्वकप जित्ने दुर्लभ उपलब्धिसहित अन्तर्राष्ट्रिय करिअरको सर्वश्रेष्ठ समापन गर्न सक्नेछन्।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मेसीलाई फुटबल इतिहासकै महान् खेलाडीमध्ये एकको संज्ञा दिएका छन्।

उनले भने, ‘उनले इतिहास रचेका छन्। उनी एक जीवित किंवदन्ती हुन्। ३९ वर्षको उमेरमा पनि टोलीलाई विश्वकप फाइनलसम्म पुर्‍याउनु अविश्वसनीय उपलब्धि हो।’

स्कालोनीले थपे, हामीसँग अझै मेसी छन्, त्यसैले उनको खेलको आनन्द लिनुपर्छ। डिएगो म्याराडोनापछि हामीले के गुमायौँ भन्ने सबैलाई थाहा छ।’

अर्जेन्टिना इटाली (१९३४ र १९३८) तथा ब्राजिल (१९५८ र १९६२) पछि लगातार दुई विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा छ।

सामूहिक खेलबाट इतिहास दोहोर्‍याउने लक्ष्यमा स्पेन

अर्जेन्टिनाको खेल मेसीको व्यक्तिगत प्रतिभामा धेरै निर्भर देखिए पनि स्पेन पूर्ण रूपमा सामूहिक फुटबलमा आधारित टोली हो।

स्पेनले यस विश्वकपमा अहिलेसम्म छ खेलमा क्लिनसिट राख्दै केवल एक गोल मात्र व्यहोरेको छ। यो एउटै विश्वकपमा कुनै टोलीले राखेको सर्वाधिक क्लिनसिटको कीर्तिमान पनि हो।

स्पेनका कप्तान रोड्रीले अर्जेन्टिनालाई ‘हराउनुपर्ने टोली’ को संज्ञा दिएका छन्।

उनले भने, ‘हामी केही वर्षदेखि निरन्तर सुधार हुँदै आएका छौं। यो पुस्ताले आफ्नो नाम इतिहासमा लेख्ने विश्वास थियो र अहिले हामी विश्वकप फाइनलमा छौं। तर हाम्रो यात्रा यतिमै सकिँदैन। हाम्रो लक्ष्य उपाधि हो।’

रोड्रीले फ्रान्सविरुद्धको सेमिफाइनल प्रदर्शनलाई आफ्नो टोलीको उत्कृष्ट खेलमध्ये एक बताए पनि अर्जेन्टिनालाई हराउन अझ उच्च स्तरको प्रदर्शन आवश्यक पर्ने उल्लेख गरे।

तथ्याङ्क के भन्छ ?

तथ्याङ्क विश्लेषण गर्ने संस्था अप्टाको सुपर कम्प्युटरले स्पेनलाई फाइनलको प्रमुख दाबेदार मानेको छ।

निर्धारित ९० मिनेटभित्र स्पेनले जित्ने सम्भावना: ४५ प्रतिशत

निर्धारित समयमा अर्जेन्टिनाले जित्ने सम्भावना: २६ प्रतिशत

खेल अतिरिक्त समय वा पेनाल्टीमा जाने सम्भावना: २९ प्रतिशत

समग्रमा अप्टाले स्पेनको विश्वकप जित्ने सम्भावना ५९.५६ प्रतिशत तथा अर्जेन्टिनाको ४०.४४ प्रतिशत रहेको जनाएको छ।

फाइनलका रेफ्री

मुख्य रेफ्रीः स्लाभ्को भिन्चिच (स्लोभेनिया)

सहायक रेफ्रीः टोमाज क्लान्चनिक (स्लोभेनिया)

सहायक रेफ्रीः आन्द्राज कोभाचिच (स्लोभेनिया)

फोर्थ अफिसियलः अधाम मखादमेह (जोर्डन)

रिजर्भ सहायक रेफ्रीः मोहम्मद अलकलाफ (जोर्डन)

हेड–टु–हेड

स्पेन र अर्जेन्टिनाबीच अहिलेसम्म १४ खेल भएका छन्। जसमा स्पेन र अर्जेन्टिना दुवैले ६–६ खेल जितेका छन् भने बराबरी २ खेल बराबरी भएको छ।

विश्वकपमा भने यी दुई टोली दोस्रो पटक मात्र भिड्न लागेका हुन्। यसअघि सन् १९६६ को समूह चरणमा अर्जेन्टिनाले स्पेनलाई २–१ ले पराजित गरेको थियो।

सम्भावित सुरुआती टोलीः

स्पेन (४–२–३–१)

उनाइ सिमोन, पेड्रो पोरो, पाउ कुबार्सी, आयमेरिक लापोर्टे, मार्क कुकुरेया, रोड्री, फाबियन रुइज, लामिन यामल, ड्यानी ओल्मो, एलेक्स बाएना, मिकेल ओयारर्जाबल।

अर्जेन्टिना (४–१–३–२)

एमिलियानो मार्टिनेज, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्ड्रो मार्टिनेज, निकोलास टालियाफिको, लिएन्ड्रो परेडेस, रोड्रिगो डी पल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, लियोनल मेसी, जुलियन अल्भारेज।