सरकारले डिजिटल पत्रकार तथा तथ्यजाँच (फ्याक्ट चेकिङ) अभियन्ता उमेश श्रेष्ठलाई प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्रेस काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
श्रेष्ठ नेपाली भाषाको पहिलो युनिकोड ब्लग ‘माइसंसार डटकम’का संस्थापक तथा ‘नेपाल फ्याक्टचेक’का सम्पादक हुन्। सञ्चार क्षेत्रमा ‘सालोक्य’ उपनामबाट पनि परिचित उनीसँग छापा, टेलिभिजन, अनलाइन र डिजिटल पत्रकारितामा दुई दशकभन्दा बढीको अनुभव छ।
श्रेष्ठले सन् २००५ अप्रिल ६ मा नेपालकै पहिलो युनिकोड ब्लग ‘माइसंसार डटकम’ सुरु गरेका थिए। नेपालमा अडियो र भिडियो ब्लगिङको सुरुआत गर्ने श्रेय पनि माइसंसारलाई नै दिइन्छ।
उनी सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालका संस्थापक सदस्यसमेत हुन्। पछिल्ला वर्षहरूमा उनले सीएमआर जर्नालिज्म एकेडेमीमार्फत पत्रकारहरूलाई तथ्यांक पत्रकारिता, तथ्यजाँच (फ्याक्ट चेकिङ) र डिजिटल सुरक्षासम्बन्धी तालिम प्रदान गर्दै आएका छन्।