ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स तथा हेमन्त धामी र आरिफ शेखको उत्कृष्ट बलिङमा नेपालले जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेल ८१ रनले जितेको छ।
ग्रानिभलमा सोमबार राति भएको खेलमा नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको जर्सी ४१ ओभरमा १६९ रनमा अलआउट भयो। चार्ली ब्रेननले अविजित ८२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यसअघि नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २५० रन बनाएको थियो। कुशल भुर्तेलले ११७ बलमा १०५ रनको शतकीय इनिङ्स खेले भने भीम सार्कीले ३९ रन जोडे।
बलिङतर्फ हेमन्त धामीले ४ विकेट, आरिफ शेखले ३ विकेट तथा करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट लिए।
नेपालले अब बुधबार जर्सीसँग दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि टोली नेदरल्यान्ड्समा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिदेशीय शृङ्खलामा नामिबिया र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।