सन् २०२६ को फिफा विश्वकप विजेता टोलीले इतिहासमै पहिलो पटक ‘च्याम्पियनसिप रिंग’ (विजेता औँठी) प्राप्त गर्ने भएको छ। फिफाले आफ्नो इतिहासमा पहिलो पटक विश्वकप विजेतालाई ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा औँठी प्रदान गर्न लागेको हो।
यस औँठीको एकातर्फ फिफा विश्वकपको प्रतिष्ठित ट्रफी अंकित हुनेछ भने अर्कोतर्फ विजेता टोलीको पहिचान झल्किने विशेष डिजाइन रहनेछ।
आगामी आइतबार राति अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा अर्जेन्टिना र स्पेनबीच हुने विश्वकप फाइनलपछि विजेता टोलीलाई ट्रफी, स्वर्ण पदक र ‘च्याम्पियनसिप रिंग’ प्रदान गरिनेछ।
फिफाको कुनै पनि प्रतियोगितामा पहिलो पटक यस्तो औँठी वितरण गर्न लागिएको हो। यो अवधारणा अमेरिकी खेलकुदमा प्रचलित एनबीए र सुपर बाउल विजेतालाई प्रदान गरिने ‘च्याम्पियनसिप रिंग’बाट प्रेरित भएको जनाइएको छ।
विश्वकप २०२६ लाई सम्मान गर्दै कुल २,०२६ वटा औँठी उत्पादन गरिनेछ। तीमध्ये विजेता टोलीका खेलाडी र प्रशिक्षकलाई औँठी प्रदान गरिनेछ भने बाँकी १,९९६ वटा औँठी विश्वभरका फुटबल समर्थकका लागि बिक्रीमा राखिने योजना छ। प्रत्येक औँठीमा छुट्टै सिरियल नम्बर रहनेछ र त्यससँग आधिकारिकताको प्रमाणपत्र पनि उपलब्ध गराइनेछ।
फाइनल खेल सकिएलगत्तै विजेता टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई उत्सवका लागि अस्थायी औँठी प्रदान गरिनेछ। त्यसपछि टोलीका ३० सदस्यका लागि उनीहरूको हातको नापअनुसार तयार पारिएका स्थायी औँठी विशेष समारोहमार्फत हस्तान्तरण गरिने फिफाले जनाएको छ।