४८ टोली, १०४ खेलपछि फिफा विश्वकप २०२६ ले सोमबार नयाँ विश्व च्याम्पियन पाउनेछ। अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुँदैछन्।
अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्दै इतिहास रच्ने लक्ष्यमा छ भने स्पेन १६ वर्षपछि दोस्रो पटक विश्व च्याम्पियन बन्ने अभियानमा छ। यो फाइनललाई लियोनल मेसीको अनुभव र १८ वर्षीय लामिन यमालको उदाउँदो प्रतिभाबीचको पुस्तान्तरणको भिडन्तका रूपमा पनि हेरिएको छ।
समूह चरणदेखि अपराजित रहेका दुवै टोलीले फरक शैलीमा फाइनल यात्रा तय गरेका हुन्। स्पेनले प्रतियोगिताभर आकर्षक र नियन्त्रणमा आधारित फुटबल खेल्दै केवल एक गोल मात्र बेहोरेको छ। उता अर्जेन्टिनाले नकआउट चरणमा लगातार पुनरागमन गर्दै कठिन यात्रा पार गरेर लगातार दोस्रो फाइनलमा स्थान बनाएको हो।
मेसी आठ गोलसहित गोल्डेन बुटको दौडमा छन् भने स्पेनका लागि यमाल, रोड्री र डानी ओल्मो मुख्य खेलाडी रहनेछन्। अर्जेन्टिनाबाट जुलियन अल्भारेज, लाउटारो मार्टिनेज, एन्जो फर्नान्डेज र एमिलियानो मार्टिनेजमाथि पनि सबैको नजर हुनेछ।
खेल तालिका
फाइनल: स्पेन vs अर्जेन्टिना
मिति: ४ साउन
समय: बिहान १२:४५ बजे
स्थान: न्युयोर्क–न्युजर्सी स्टेडियम, अमेरिका