आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार चार खेल गुमाएपछि नेपालको शीर्ष चारमा रहेर ओडिआई विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना लगभग समाप्त भएको छ। गणितीय सम्भावना अझै बाँकी रहे पनि अब नेपालको भाग्य आफ्नै प्रदर्शनसँगै अन्य टोलीको नतिजामा समेत निर्भर भएको छ।
यससँगै नेपाली टोलीको ध्यान शीर्ष चारभन्दा पनि शीर्ष ६ मा रहेर ओडिआई मान्यता जोगाउनेतर्फ केन्द्रित भएको छ। बुधबार नेदरल्यान्ड्ससँग पराजित भएपछि कप्तान रोहित पौडेलले पनि अब टोलीको प्राथमिकता ओडिआई मान्यता कायम राख्नु भएको स्पष्ट पारे।
रोहित : अब शीर्ष ६ नै मुख्य लक्ष्य
होस्ट ब्रोडकास्टरसँग कुरा गर्दै कप्तान पौडेलले बाँकी चार खेल नेपाली टोलीका लागि ‘फाइनल’ सरह रहेको बताए।
‘ओडिआई मान्यता बचाउनका लागि अब हामीसँग अन्तिम सिरिज बाँकी छ। शीर्ष ६ मा पर्नु नै हाम्रो मुख्य लक्ष्य हो,’ रोहितले भने, ‘अन्तिम चार खेल हाम्रो लागि निकै महत्वपूर्ण छन्। त्यसका लागि राम्रो तयारी आवश्यक छ। मलाई यो टोलीमाथि पूर्ण विश्वास छ र हामी अझ बलियो रूपमा पुनरागमन गर्नेछौँ।’
चार हारले बिग्रियो नेपालको समीकरण
नेदरल्यान्ड्समा सम्पन्न लिग–२ सिरिजमा नेपालले खेलेका चारै खेल गुमायो। सम्भावित आठ अंकमध्ये एक अंक पनि जोड्न नसक्दा नेपालको शीर्ष चार यात्रा लगभग असम्भव बनेको हो।
अब शीर्ष चारमा पुग्न नेपालले बाँकी चारै खेल जित्नुपर्नेछ। त्योसँगै अन्य प्रतिस्पर्धी टोलीको नतिजा पनि नेपालको पक्षमा आउनुपर्नेछ।
नेपालको समीकरण झन् कठिन छ। ओमानले बाँकी खेलमध्ये एक खेल मात्रै जिते पनि वा नेपालले बाँकी चारमध्ये एक खेल मात्रै गुमाए पनि शीर्ष चारमा पुग्ने सम्भावना समाप्त हुनेछ।
अब ओडिआई मान्यता जोगाउने दबाब
२०२४–२६ को लिग–२ चक्रमा आठ एसोसिएट राष्ट्र सहभागी छन्। शीर्ष चार टोलीले सिधै ओडिआई विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् भने बाँकी चार टोलीले क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।
यसपटक शीर्ष ६ टोलीको ओडिआई मान्यता कायम रहने चर्चा भए पनि आईसीसीले यसबारे औपचारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन। त्यसैले नेपालका लागि बाँकी चार खेल अझै महत्वपूर्ण बनेका छन्।
अंकतालिकामा छैटौं स्थानमा झर्यो नेपाल
नामिबियासँग लगातार दुई खेलमा पराजित भएपछि नेपाल अंकतालिकाको छैटौं स्थानमा झरेको छ। नेपालको ३२ खेलबाट २४ अंक छ।
नामिबिया ३१ खेलबाट २६ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ। नेपालसँग समान २४ अंक भए पनि क्यानडा नेट रनरेटका आधारमा सातौं स्थानमा छ। युएई २४ खेलबाट १४ अंकसहित पुछारमा रहेको छ।
अमेरिकाले ३२ खेलबाट ४३ अंक जोड्दै ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरिसकेको छ। नेपाललाई पराजित गरेपछि नेदरल्यान्ड्स ३१ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। स्कटल्यान्डको पनि ३२ खेलबाट समान ३८ अंक छ भने ओमान २८ खेलबाट ३१ अंकसहित चौथो स्थानमा रहेको छ।
नेपालको अबको चुनौती
विश्वकप ग्लोबल क्वालिफायर पुग्ने सम्भावना अत्यन्त कमजोर बनेपछि अब नेपालका लागि सबैभन्दा ठूलो चुनौती ओडिआई मान्यता जोगाउनु हो। त्यसका लागि बाँकी चार खेलको नतिजाले मात्र होइन, टोलीको समग्र प्रदर्शनले पनि नेपालको भविष्य निर्धारण गर्नेछ।