नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि आयोजित श्रद्धाञ्जली कार्यक्रममा पनि पार्टीभित्रको आन्तरिक विभाजन छर्लङ्ग भएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिए पनि कांग्रेसको संस्थापनइतर समूहका अधिकांश शीर्ष नेताहरू कार्यक्रममा अनुपस्थित रहे।
श्रद्धाञ्जली कार्यक्रममा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर श्रेष्ठप्रति अन्तिम सम्मान व्यक्त गरे। पदाधिकारी, केन्द्रीय सदस्य तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहे पनि संस्थापनइतर पक्षका नेताहरू सानेपा नगएपछि कांग्रेसभित्रको मतभेद फेरि सार्वजनिक रूपमा देखिएको हो।
अन्य दलका शीर्ष नेता पुगे, आफ्नै पार्टीका नेताहरू अनुपस्थित
कांग्रेसका नेताहरू अनुपस्थित भइरहँदा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू भने श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरे।
यता, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत संस्थापनइतर समूहका नेताहरू भने सानेपा पुगेनन्।
‘घरमै श्रद्धाञ्जली दियौँ, कार्यालय बहिष्कार गरेका होइनौँ’
संस्थापनइतर समूहका नेता प्रकाशशरण महतले आफूहरू श्रेष्ठको निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेको बताए। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तस्बिरमा शशांक कोइराला, एनपी साउद, दीपक खड्कालगायत नेताहरू श्रेष्ठको निवासमा पुगेको देखिन्छ।
शेखर कोइराला भने विराटनगरमा रहेकाले सानेपा पुग्न सकेनन्।
महतले पार्टी कार्यालय बहिष्कार गरेको भन्ने आरोप अस्वीकार गरे।
उनले भने, ‘हामी बिहानै उहाँको निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गर्यौँ। त्यसपछि अन्त्येष्टिमा पनि सहभागी भयौँ। पार्टी कार्यालय बहिष्कार गरेको होइन, परिस्थिति र समय नमिलेको मात्रै हो।’
उनका अनुसार आफूहरू कांग्रेसको मूल भावना र संगठनसँग सधैँ जोडिएको समूह भएकाले पार्टीबाट टाढिएको भन्ने बुझाइ गलत हुनेछ।
विशेष महाधिवेशनको विवाद अझै कायमै
गत पुस अन्तिममा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। सर्वोच्च अदालतले उक्त महाधिवेशनलाई वैधानिकता दिए पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षले पुनरावलोकनको प्रक्रिया अघि बढाएको छ।
विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको ध्रुवीकरण अझै अन्त्य नभएको संकेत श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा पनि देखिएको छ।
महाधिवेशनपछि संस्थापनइतर समूहले सानेपा केन्द्रीय कार्यालयमा रातभर धर्नासमेत दिएको थियो। त्यसबेला सभापति थापाले केही दिनपछि मात्रै कार्यालय प्रवेश गरेका थिए।
अन्तिम इच्छा पनि पार्टीसँगै जोडिएको थियो
क्यान्सरबाट पीडित श्रेष्ठको मंगलबार ललितपुरस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
अस्पतालमा उपचाररत रहँदा उनले आफूलाई अन्तिमपटक पार्टी केन्द्रीय कार्यालय लैजान आग्रह गरेको निकटस्थहरूले बताएका छन्। जीवनभर कांग्रेसको राजनीतिमा सक्रिय रहेका श्रेष्ठले अन्तिम समय पनि पार्टीसँगै बिताउने इच्छा व्यक्त गरेका थिए।
लामो राजनीतिक यात्रा
स्याङ्जाबाट पटक–पटक प्रतिनिधिसभा सदस्य निर्वाचित श्रेष्ठले उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण, वन तथा भू–संरक्षण, उद्योग तथा शिक्षा मन्त्रालयको नेतृत्व गरेका थिए। उनी कांग्रेस संसदीय दलका प्रमुख सचेतक पनि बनेका थिए।
शेरबहादुर देउवा शाही शासनकालमा पक्राउ पर्दा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) को कार्यवाहक सभापतिको जिम्मेवारी पनि श्रेष्ठले सम्हालेका थिए।
विद्यार्थी जीवनदेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय श्रेष्ठ २०३६ सालको जनमतसंग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन तथा २०६२/६३ को जनआन्दोलनका सक्रिय सहभागी थिए। २०६३ सालको विस्तृत शान्ति सम्झौतामा पनि उनले हस्ताक्षर गरेका थिए।
अन्तिम भाषण : ‘इतिहासको ब्याज खाएर भविष्य चल्दैन’
गत २८ पुसमा कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहमा दिएको भाषण नै श्रेष्ठको सार्वजनिक जीवनको अन्तिम सम्बोधन बन्यो।
त्यसक्रममा उनले आफू कुनै पदका लागि नभई पार्टी र देशको भविष्यका लागि बोलेको बताएका थिए। गगन थापा र विश्वप्रकाश शर्मालाई ‘चम्किला तारा’को संज्ञा दिँदै उनले कांग्रेसले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका थिए।
‘इतिहासको ब्याज खाएर अब भविष्य चल्दैन। राष्ट्रियता जोगाउन कांग्रेस एकजुट हुनुपर्छ,’ उनले भनेका थिए।
श्रेष्ठले आफूलाई कुनै पदको चाहना नभएको स्पष्ट पार्दै युवालाई नेतृत्वमा अघि सार्नुपर्ने र कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने चेतावनी दिएका थिए।
विशेष महाधिवेशन सफल बनाएर फेरि भेट्ने प्रतिबद्धता व्यक्त गरेका श्रेष्ठ त्यसपछि भने कार्यकर्ता र नेताहरूसँग फेरि भेटिन पाएनन्।