विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग

  • प्रकाशित मिति : २०८३ श्रावण २५, सोमबार
  • नेपाल टेल संवाददाता

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गरी सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रधानमन्त्रीलाई खुलापत्र पठाउँदै पुर्जालाई तत्काल राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको हो । त्यस्तै, राष्ट्रिय सम्मानसहित राष्ट्रिय शोकसभा आयोजना गरी उनको योगदानप्रति राष्ट्रको कृतज्ञता र सम्मान औपचारिक रूपमा व्यक्त गर्न पनि आग्रह गरिएको छ ।



पत्रमा पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पर्वतारोही निर्मल पुर्जा तथा उनीसँगै ज्यान गुमाएका नौ जना पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । साथै, उनका परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

एनआरएनए यूकेले निर्मल पुर्जालाई सामान्य पर्वतारोही मात्र नभई मानव साहस, अनुशासन, सेवा, नेतृत्व र असम्भवलाई सम्भव बनाउने इच्छाशक्तिको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने बताएको छ । उनको असाधारण उपलब्धिले नेपाललाई विश्वसामु गौरवका साथ चिनाउन महत्त्वपूर्ण योगदान गरेको पत्रमा उल्लेख छ ।

पत्रमा राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउन तथा विश्वभर रहेका नेपाली दूतावास र कूटनीतिक नियोगमार्फत श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न निर्देशन दिनुपर्ने मागसमेत गरिएको छ । साथै, निर्मल पुर्जाको नाममा राष्ट्रियस्तरको स्मारक, अध्ययनवृत्ति वा प्रेरणा प्रतिष्ठान स्थापना गरी भावी पुस्ताका लागि उनको योगदानलाई संस्थागत गर्न आग्रह गरिएको छ ।

निर्मल पुर्जाले सन् २०१९ मा विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिनाको अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो । उहाँले ८ हजार मिटरभन्दा अग्ला १४ भन्दा बढी हिमालको सफल आरोहण गर्नुभएको थियो । उहाँको जीवन केवल कीर्तिमानको कथा नभई मानवता, साहस, अनुशासन र सेवाको उदाहरण रहेको एनआरएनए यूकेको भनाइ छ ।

पूर्व ब्रिटिश गोर्खा सैनिक तथा स्पेसल बोट सर्भिस (SBS)का सदस्यका रूपमा समेत सेवा गरेका पुर्जाको राष्ट्रिय पहिचान सधैं नेपाली रहेको पत्रमा उल्लेख गरिएको छ । सुगौली सन्धि तथा नेपाल–बेलायत सन्धिअनुसार ब्रिटिश गोर्खा सैनिक नेपाली नागरिक नै भएकाले उनीहरूको योगदान नेपालको गौरव, इतिहास र राष्ट्रिय पहिचानको अभिन्न हिस्सा भएको एनआरएनए यूकेको दाबी छ ।